साप्ताहिक संवाददाता
जीवन कलाप्रेमी, (रेस्टुराँ गायक) गायक जीवन कलाप्रेमी दरबार मार्गस्थित मधुशाला गजल रेस्टुराँमा गीत–गजल गाउँछन् । हरेक साँझ उनका गीत सुन्दै खानपिनको मज्जा लिन ग्राहकहरू मधुशाला पुग्छन् । मधुशाला चर्चित गायक उदय सोताङले सञ्चालनमा ल्याएको रेस्टुराँ हो । कति वर्ष भयो मधुशालामा गाउन थालेको ? यसको स्थापनादेखि नै हो । चार वर्ष भयो ।
पहिले कहाँ गाउनुहुन्थ्यो ?
एभरेस्ट क्यासिनोमा गाउँथे । त्यसपछि केही अन्य रेस्टुराँमा पनि गाएँ । मधुशालामा आएपछि यतै छु ।
यसरी गाउँदा कत्तिको आत्मसन्तुष्टि मिल्छ ?
गाउनु मेरो रहर मात्र होइन, सानैदेखिको तीव्र चाहना पनि हो । मैले गाएरै जीवनयापन गरिरहेको छु ।
कत्तिको कमाउनु हुन्छ ?
काठमाडौंमा फ्ल्याट लिएर आनन्दसँग बाँच्न सकिएको छ ।
कस्ता गीत गाउनुहुन्छ ?
हिन्दी सुफी, गजल, फिल्मी तथा नेपाली गीतहरू गाउँछु ।
मधुशालामा तपाईं मात्र हुनुहुन्छ कि अरू पनि छन् ?
यदकदा उदय सोताङ तथा मलिना सोताङले पनि गाउनुहुन्छ । पाँच जनाको बाद्यवाधक टोली छ । गायिकामा मनीषा राई र टीका प्रसाईं छन् ।
गजल सुन्ने ग्राहक कस्ता हुन्छन् ?
प्राय: परिवारका सदस्य तथा साथीभाइहरूसँग आएका हुन्छन् । कतिपय त बारम्बार आएको पनि देखेको छु । विदेश हुनेहरू २–४ वर्षपछि स्वदेश आएको बेला दोहोर्याएर मेरा गीत सुन्न आएको पनि पाएको छु ।