साप्ताहिक संवाददाता
यो वर्ष अभिनेता दयाहाङ राईले अभिनय गरेका चारवटा चलचित्र हाउ फन्नी, झुम्की, वीरविक्रम तथा पुरानो डुंगा प्रदर्शन भैसकेका छन् । तीमध्ये वीर विक्रमबाहेक बाँकी तीनवटा चलचित्रको व्यवसाय औसत रह्यो । आगामी चैत महिनाभित्र दयाले अभिनय गरेका सेतो सूर्य, लुट–२, लालटिनजस्ता चलचित्र प्रदर्शनमा प्रदर्शन आउँदैछन् ।
यतिबेला उनी चलचित्र ‘ह्याप्पी डेज’ को छायांकनमा छन् भने आगामी एक वर्षसम्मका लागि उनले नयाँ चलचित्रहरूका लागि डेट दिइसकेका छन् । यो तथ्यांकलाई आधार मान्ने हो भने दयाहाङ यतिबेलाका सबैभन्दा व्यस्त अभिनेता हुन् । व्यस्त हुनु र सफल हुनु भिन्न कुरा हुन् । भर्खरै प्रदर्शनमा आएको चलचित्र ‘पुरानो डुंगा’ हेर्ने दर्शकहरू हलबाट बाहिरिंदा उनकै अभिनयका कारण निराश देखिए । चलचित्र हेर्ने अधिकांश दर्शकले उनले ओभर एक्टिङ गरेको आरोप लगाए । समीक्षकहरू भन्न थालेका छन्— दयाहाङले चलचित्रको संख्या होइन गुणस्तरतर्फ सोच्नुपर्छ ।