साप्ताहिक संवाददाता
चार घण्टामा दुई चलचित्र छायांकन गरेर निर्देशक अराज केशवले विश्व कीर्तिमान राखेको दाबी गरेका छन् । यसअघि भारतमा ३ घण्टा २८ मिनेट ४ सेकेन्ड लामो वन सट चलचित्रको कीर्तिमानलाई भंग गर्दै दुई नेपाली चलचित्र ‘जालो’ तथा ‘जालो रिटन्र्स’ को छायांकन ४ घन्टामा सम्पन्न गरिएको हो । अघिल्लो बुधबार बुढानिलकण्ठस्थित सुरज वैद्यको घरमा निर्देशक केशव तथा निर्माता मोहित मुनालले उक्त कीर्तिमान कायम गरेका हुन् ।
निर्देशक केशवका अनुसार लामो समय वर्कशप गरेपछि यो व्यवसायिक चलचित्रको वन सट छायांकन सम्पन्न भएको हो । उनका अनुसार दुवै चलचित्रको अवधि २–२ घण्टा छ । यीमध्ये जालो पहिले प्रदर्शन हुनेछ । हरि लामाद्वारा छायांकन गरिएको यो चलचित्रको कुनै पनि दृश्य सम्पादनका क्रममा काटिनेछैन । दृश्यहरूलाई जुम तथा भीएफएक्स भने गरिनेछ । चलचित्रको यो कीर्तिमानलाई गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा दर्ता गर्ने प्रक्रिया प्रारम्भ भएको यसको निर्माण पक्षले जनाएको छ ।