साप्ताहिक संवाददाता
पुस १०, २०७३
सुरक्षा पन्त पेसाले इन्जिनियर हुन् । अभिनय उनको सौख मात्र हो । पछिल्लो समय कान्तिपुर टेलिभिजनमा भिडियो जक्कीका रूपमा समेत सक्रिय सुरक्षाले पहिलो पटक अभिनय गरेको चलचित्र थियो— ‘अझै पनि’, जसलाई दिवंगत निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका थिए । त्यसपछि उनले कुनै पनि चलचित्रमा अभिनय गरिनन् ।
यसबीच सुरक्षालाई ‘पशुपतिप्रसाद’ निर्माण गर्ने युनिटले पुन: चलचित्रमा ल्याएको छ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘धनपति’ मा सुरक्षाले शीर्षक भूमिका निर्वाह गर्दै खगेन्द्र लामिछानेसँग अनस्क्रिन रोमान्स गर्ने पक्का भएको छ । धनपतिमा आबद्ध भएपछि सुरक्षालाई बधाईको ओइरो लागेको छ भने चलचित्र निर्माण गर्ने टिम पनि उनलाई अभिनय गराउन पाएकोमा उत्साहित देखिन्छ ।