साप्ताहिक संवाददाता
जाडो सुरु नहुँदै मिनपचासको बिदाका लागि विभिन्न योजना बन्थे विद्यार्थीहरूमाझ । विभिन्न प्रेरणामूलक क्रियाकलापका लागि साथीभाइमाझ छलफल चल्थ्यो, तर अहिले मुलुकको राजनैतिक अस्थिरता, प्राकृतिक विपद् लगायतका कारणले मिनपचास बिदाको अवधारणामा परिवर्तन आएको छ । जाडोयाम सुरु हुनेबित्तिक्कै सरकारद्वारा घोषित मिनपचासको बिदा पछिल्लो समयमा आइपुग्दा निकै साँघुरिएको छ । ५० दिन दिइने बिदा, महिना दिन हुँदै अहिले आएर हप्ता दिनमा सीमित हुन पुगेको छ । निरन्तर एकनासले विद्यालय धाउनुपर्दा विद्यार्थीहरूको दिमाग पनि बोझिलो हुने तथा रुचिका अन्य कुरा गर्न समय नहुने हुँदा कतिपय विद्यार्थी जाडोको बिदा लामै हुनुपर्छ भन्ने वकालत गरिरहेका छन् भने विद्यालय सञ्चालकहरू भने कोर्स सिध्याउनैपर्ने बाध्यता अगाडि सारिरहेका छन् ।
शिक्षा नियमावलीमै नियम छ मिनपचास बिदाको । वर्षभरीमा ४५ दिन मिनपचासको र ५ दिन स्थानीय बिदा दिने कुरा नियमावलीमा उल्लेख छ । बिदाका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिनु/दिनुपर्छ । मिनपचास बोलीचालीको भाषा हो, तर मन्त्रालयको आशय हिउँदे र वर्षे बिदा भन्ने हो । स्कुलहरूले पाठ्यक्रममा भएअनुसार वर्षमा १ सय ९२ दिन पढाउनैपर्छ भन्ने नियम छ । बन्द भयो भने अर्को दिन बोलाउनुपर्छ, त्यसैले बिदाको दिन घट्ने सम्भावना रहन्छ । हालसम्म पनि शिक्षा नियमावलीमा हिउँदे–वर्षे गरी ४५ र ५ दिन विद्यालय आफैंले बिदा दिने नियम छ । हालको प्रतिकूल परिस्थितिका कारण विद्यालयहरूको बिदामा कटौती आइरहेको छ । समय अनुकूल हुनेबित्तिकै यो यथावतै रहन्छ ।
हरि लम्साल, सहसचिव,
शिक्षा मन्त्रालय
मेरो विचारमा बिदा आवश्यक छ । सधै एउटै कुरामा मात्र लागिरहँदा मानिसको दिमाग थाक्छ, बोधो हुन्छ । मानसिक रूपमा पनि रिफ्रेस हुनु जरुरी छ । यस्तो बिदाले अभिभावक एवं बालबालिकाहरूको अत्मीयता अझ प्रगाढ बनाउन मद्दत पुर्याउँछ । सामाजिकीकरण बढ्छ । शिक्षकहरूलाई पनि आराम चाहिन्छ । ब्रेक नदिँदा मोनोटोनस हुन्छ, उनीहरू शारीरिक एवं मानसिक रूपमा थकित हुन पुग्छन् । निरन्तर पढाइमा मात्र लाग्दा उनीहरूको सिर्जनशीलता ह्रास हुँदै जान्छ । सामाजिकीकरण, आत्मियता, साथीभाइ तथा आफन्तहरूसँगको सम्बन्ध टाढिँदै जान्छ । बिदा यस कारण आवश्यक छ कि जीवनमा नयाँ कुरा आवश्यक हुन्छ, जसले जीवनलाई रमाइलो बनाउँछ, तसर्थ बिदालाइ जिम्मेवारी होइन, रमाइलोका रूपमा बिताउनुपर्छ ।
रोजिना मानन्धर, मनोविद्, बोध इन्टिग्रेटेड साइकोलोजिकल सेन्टर
मिनपचास छुट्टी हाल मुलुकको अवस्थाअनुसार नभएकै राम्रो, किनभने विद्यार्थीहरूले कोर्स सक्न पाउँदैनन् । मिनपचास बिदा काट्दा पनि उनीहरूको कोर्स कम्प्लिट हुन सकेको छैन । हामी सानो हुँदा यो बिदा अत्यन्तै इन्जोय गरिन्थ्यो । त्यतिबेला बन्द–हड्ताल हँुदैनथ्यो । शिक्षकहरू पनि निष्ठावान् एवं कर्मप्रति दत्तचित्त थिए, तर अहिले शिक्षकहरू पनि कम जिम्मेवार भएको महसुस हुन्छ, फलस्वरूप समयमा कोर्स सकिँदैन । भोलिका दिनमा राजनीतिक स्थिरता कायम भयो र स्थिति अनुकुल रह्यो भने यो बिदा अत्यन्तै राम्रो र विद्यार्थीका लागि फलदायी छ । यो समयमा छात्रछात्राहरू अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास, समाज एवं परिवारप्रतिको दायित्व महसुस गराउने काममा लाग्न सक्छन् ।
उद्धवबहादुर खड्का, अभिभावक
विद्यार्थीहरूका लागि बिदा आवश्यक छ । किनभने चिसोमा बिहानै स्कुल–कलेज जान गाह्रो हुन्छ, जाडोमा बिहान अँध्यारो हुन्छ, चिसो पनि बढी हुन्छ । हिजोआज कलेजमा दसैंदेखि तिहारसम्म लामो बिदा दिइन्छ, तर त्यसो नगरी जाडोमा बिदा दिनुपर्ने हो । परिवारसँग समय व्यतीत गर्न, कतै गएर एन्जोय गर्न, नयाँ ठाउँ घुम्न, रिक्रिएसनका साथै स्कुल कलेजमा नबुझेका कतिपय कुरा घरमा समय लिएर पढ्न पाइन्छ । बिदा महत्वपुर्ण छ तर साह्रै लामो बिदा पनि चाहिँदैन । जस्तो कि दसैंदेखि तिहारसम्मको बिदामा यति होमवर्क हुन्छ कि मज्जाले चाडबाड मनाउने समय निकाल्न गाह्रो हुन्छ । बिदा मानसिक तन्तुरुस्तीका लागि पनि आवश्यक हुन्छ, हामी विद्यार्थीहरूका लागि । हरेक समय पढिरहँदा मेन्टल्ली टायर्ड भइन्छ, त्यसैले फ्रेस हुने समय पनि निकाल्नु जरुरी छ । दसैं देखि तिहारसम्मको बिदाको सट्टा जाडो बिदा थपिदिए अँध्यारो अनि चिसोमा बिहानै हिँड्नु पर्दैन । अभिभावकहरूलाई सघाउने समय पनि मिल्छ ।
स्मारिका श्रेष्ठ, विद्यार्थी, नेशनल कलेज अफ कम्प्युटर स्टडिज
मिनपचासको छुट्टी त चाहिन्छ तर पहिलेजस्तो लामो हुनु हुँदैन । पहिले–पहिले काठमाडौं अत्यन्त चिसो थियो । हिजोआज काठमाडौंमा पहिलेजस्तो जाडो हँुदैन । पहिले त्यति बन्द–हड्ताल पनि हुँदैनथ्यो, कोर्स राम्रोसँग अघि बढ्थ्यो तर अहिले मुलुकको स्थिति एवं राजनैतिक अस्थिरताका कारण बन्द–हड्ताल भैरहन्छन्, कोर्स सिध्याउनैपर्ने बाध्यता हुन्छ । यस्तो अवस्थामा कसरी लामो बिदा दिन सकिन्छ ? यिनै कुरालाई सन्तुलित राख्न पनि लामो बिदा उपयुक्त छैन । पहिले चिसोका कारण बालबच्चाको हात कठ्याङ्ग्रिने तथा शिक्षकलाई पढाउन गाह्रो हुने हुँदा सरकारले मिनपचासको नीति ल्याएको हो, तर अहिले हरेक कुरालगायत वातावरणीय परिवर्तन हुँदै जाँदा यो उपयुक्त देखिएन्, यद्यपि नीतिमा अझै मिनपचास कायमै छ । हामी यसपटक हप्ता दिन मात्र जाडो बिदा दिँदैछौं, कारण कोर्स सिध्याउनुपर्ने बाध्यता नै हो ।
प्रकाश आचार्य, अध्यक्ष तथा कार्यकारी निर्देशक, बेबीलोन नेसनल हाइयर सेकेन्डरी स्कुल