साप्ताहिक संवाददाता
सातौं राष्ट्रिय खेलकुदको एउटा निराशाजनक पक्ष रह्यो, धेरै कम राष्ट्रिय कीर्तिमान बन्नु । प्रतियोगिता सुरु हुनुअघि राष्ट्रिय कीर्तिमानका लागि अलग्गै पुरस्कार रकमको पनि घोषणा गरिएको थियो, तर यसले पनि खेलाडीहरूलाई लोभ्याउन सकेन । पूर्वाञ्चलमा भएको यसपटकको राष्ट्रिय खेलकुदमा जम्मा दुई खेलमा मात्र राष्ट्रिय कीर्तिमान बन्यो— एथलेटिक्स र भारोत्तोलन । अझ यसपटकको राष्ट्रिय खेलकुदमा कीर्तिमानतर्फ कसैले साख जोगायो भने त्यो भारोत्तोलन मात्र थियो ।
यसपल्ट भारोत्तोलनमा १४ कीर्तिमान बने र यो नेपाली भारोत्तोलन संघका लागि गर्वको उपलब्धि रहनेछ । एथलेटिक्सतर्फ भने दुई मात्र कीर्तिमान बने, त्यो पनि सटपुट र ज्याभलिन थ्रोमा । यस्तोमा जतिले सातौं राष्ट्रिय खेलकुदका क्रममा राष्ट्रिय कीर्तिमान बनाए, ती नायक रहे । यसबीच एउटा प्रश्न के उठ्छ भने किन बन्न सकेनन् त राष्ट्रिय कीर्तिमानहरू ? प्राय: कीर्तिमान बन्ने एथलेटिक्सका प्रतिस्पर्धामा ठूलै निराशा देखियो ।
यसको प्रमुख कारण रह्यो, खराब खेलमैदान, अनि उत्तिकै खराब ट्रायक । एकातर्फ खराब ट्रायकमा खेलाडीले आफूले सक्दो प्रदर्शनसमेत गर्न सकेनन् । दोस्रो, प्रदर्शन गर्न सक्ने खेलाडीले पनि चोटका कारण आँट गरेनन् । त्यसैले चन्द्रकला लाम्गाडे एथलेटिक्सको सबैभन्दा ठूलो स्टार सावित भइन् । उनी प्रतियोगितामै एथलेटिक्सतर्फ महिलामा उत्कृष्ट खेलाडी चुनिइन् । चन्द्रकलाले आफू सहभागी सटपुट र ज्याभलिन दुवैमा राष्ट्रिय कीर्तिमान बनाइन् ।
पुलिसकी चन्द्रकलाले ज्याभलिन थ्रोमा ४३ दशमलव ९४ मिटर फाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । यसअघिको ४३ दशमलव ९० को कीर्तिमान उनकै नाममा थियो । चन्द्रकलाले सटपुटमा नयाँ राष्ट्रिय कीर्तिमानका लागि ११ दशमलव ५६ मिटर थ्रो गरिन् । यसअघि उनकै नाममा ११ दशमलव ४ मिटर थ्रोको कीर्तिमान थियो अर्थात् उनले दुवै खेलमा आफ्नै प्रदर्शनमा सुधार ल्याइन् । दुवै राष्ट्रिय कीर्तिमान बनाएपछि स्वभाविक रूपमा खुसी भएकी चन्द्रकलाको प्रतिक्रिया थियो, ‘सोच्दै नसोचेको भयो, त्यसैले निकै प्रसन्न छु ।’
यसपटकको भारोत्तोलन सप्तरीको राजविराजमा भएको थियो । पुलिसकी देवी चौधरीले ५३ केजी तौल समूहमा नयाँ कीर्तिमान बनाइन् । उनले त्यसका लागि स्न्याचमा ६० केजी र क्लिन एन्ड जर्कमा ७८ केजी गरेर कुल १ सय ३७ केजी उठाइन । यसअघि देवीकै नाममा पुरानो कीर्तिमान थियो, स्न्याचमा ५८ र क्लिन एन्ड जर्कमा ७७ केजीको । महिलातर्फ नै ५८ केजीमा आर्मीकी कमला श्रेष्ठले गज्जबको प्रदर्शन गरिन् । उनले स्न्याचमा ६६ केजी र क्लिन एन्ड जर्कमा ७९ केजी गरेर कुल १ सय ४५ केजी उठाइन ।
पुरुषतर्फ आर्मीका कमलबहादुर अधिकारीले ८५ केजी तौल समूहमा कीर्तिमान बनाए । उनले क्लिन एन्ड जर्कमा १ सय ५५ केजी उठाए । यस्तै पुरुषतर्फकै ९४ केजी तौल समूहमा आर्मीका दिनेश श्रेष्ठले स्न्याचमा १ सय १८, क्लिन एन्ड जर्कमा १ सय ५० गरेर कुल २ सय ६८ केजी उठाएर राष्ट्रिय कीर्तिमान बनाए । अर्को कीर्तिमान बनाउने खेलाडी हुन्, आर्मीका पुकार गुरुङ । उनले स्न्याचमा १ सय २४ र क्लिन एन्ड जर्कमा १ सय ३५ गरेर कुल २ सय ५९ केजी उठाए ।