साप्ताहिक संवाददाता
धनगढी प्रिमियर लिग डीपीएल आयोजनाको घोषणसँगै यसको अवधारणा विकास गर्ने सुभाष शाही लगातार चर्चामा छन् । धनगढीमा लामो समयदेखि क्रिकेकटका विभिन्न प्रतियोगिता आयोजना गर्दै आएका सुभाषले यसपल्ट भने निकै ठूलो प्रतियोगिता गर्ने आँट गरेका छन् । यसका लागि हालै मात्र टिमका मालिक तथा कप्तान मात्र घोषणा भएका छैनन्, खेलाडीको पनि लिलामी भएको छ। खेलाडी लिलामी क्रिकेटको अन्र्राष्ट्रिय अक्सन–मोडलअनुसार सम्पन्न भएको थियो ।
अहिलेसम्म प्रतियोगितालाई लिएर कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
सबैबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । खेलाडी लिलामी हुनु र त्यसका लागि चलेको प्रक्रियालाई धेरैले नेपाली क्रिकेटकै ऐतिहासिक दिन भनेका छन् । यो प्रतियोगिताको आयोजनाले नेपाली क्रिकेटलाई अझ अघि बढ्न मद्दत गर्नेछ ।
आयोजक सहर धनगढी र त्यहाँका क्रिकेटप्रेमी कति उत्साहित छन् ?
धनगढी क्रिकेटको सहरका रूपमा चिनिन थालेको छ । अब धनगढीमै सहरकै नाममा प्रतियोगिता हुन लागेको छ । सबै सहरवासी उत्साहित छन् र सबैले प्रश्न थालेका छन्, अब प्रतियोगिता कहिले सुरु होला ? यो सहरले डीपीएलको व्यग्र प्रतीक्षा गरिरहेको छ । सहर सबै खेलाडी र पाहुनालाई आतिथ्य गर्न तयार छ । हामी प्रतियोगिताको नियमित आयोजनामा पनि ढुक्क छौं । फेरि यो प्रतियोगिता ड्रिम फाप्लासँग पनि जोडिएको छ । फाप्लास्थित क्रिकेट मैदान अहिले निर्माणको क्रममा छ ।
सहरको नाममा टिम बनाउनुको कारण के हो ?
कर्पाेरेट समूहको टिमको नाम राखेर पनि प्रतियोगिता हुन सक्थ्यो, तर त्यसमा धेरैका लागि आफ्नो कुन टिम हो भनेर समर्थन गर्न समस्या हुन सक्छ । आफ्नो सहरको नाम जोडिएर आएपछि त्यसबाट भावनात्मक सम्बन्ध जोडिन्छ । सबैभन्दा ठूलो पक्ष यही हो, सहरको नाममा टिम राखिनु । फेरि सहरको नामबाट टिम रहँदा प्रतियोगिता पनि वृहत देखिन्छ ।
प्रतियोगिता महत्त्वकांक्षी छ । यसको सफलतामा कति विश्वस्त हुनुहुन्छ ?
प्रतियोगिता सफल हुने कुरामा कुनै शंका छैन । यो प्रतियोगिताका लागि हामीले लामो समयदेखि गृहकार्य गर्दै आएका थियौं । यसअघि धनगढीमा साना–ठूला धेरै क्रिकेट प्रतियोगिता गरेपछि मात्र हामी डीपीएलसम्म पुगेका हौं । प्रतियोगितामा सबैका तर्फबाट १ करोड ६० हजार रुपैयाँ अथवा त्योभन्दा बढी रकम खर्च हुनेछ । खेलाडीहरूले राम्रो पारिश्रमिक पाउनेछन् ।
टिममा लगानी गर्नेहरूले के पाउनेछन् त ?
जबसम्म टिममा लगानी गर्नेहरू व्यवसायिक हुनेछैनन्, तबसम्म खेलाडीमात्र कसरी व्यवसायिक हुन्छन् त ? यसका लागि लगानीकर्ता आफैंले व्यवसायिकतातर्फ पाइला चाल्नुपर्छ । टिमले प्रायोजक खोज्न सक्नुपर्छ, आफ्नो जर्सी बिक्री गर्न सक्नुपर्छ । साना–ठूला प्रायोजक भित्र्याउन सक्नुपर्छ ।