साप्ताहिक संवाददाता
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष हुन्– नरेन्द्र श्रेष्ठ । एन्फालाई गति र एउटा निश्चित स्वरूप दिने प्रयासमा रहेका श्रेष्ठले मोफसलमा हुने गोल्डकपहरूलाई पनि नजिकबाट नियालिरहेका छन् । उनी यस्ता प्रतियोगितालाई ठोस स्वरूप प्रदान गर्ने प्रयासमा पनि छन् ।
मोफसलमा हुने फुटबल प्रतियोगिताहरूको योगदानलाई लिएर एन्फा के भन्छ ?
घरेलु फुटबलमा यस्ता प्रतियोगिताको आफ्नै महत्त्व छ । यसले फुटबलको वातावरण तयार पार्ने गरेको छ, तर सबै प्रतियोगिता व्यवस्थित छन् भन्न सकिँदैन । कतिपयले एन्फासँग स्वीकृति पनि लिएका छैनन् ।
यस्ता प्रतियोगिताको वर्गीकरणको चर्चा पनि छ नि ?
मोफसलमा हुने प्रतियोगिताको वर्गीकरण आवश्यक छ, यसमा एन्फाले आवश्यक प्रक्रिया सुरु गर्नुपर्छ । कस्तो प्रतियोगिता हो, त्यो हेरेर ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गर्नु पर्छ । त्यसैअनुसार एन्फाले पनि सुविधा दिन सक्छ ।
एन्फाबाट स्वीकृति लिएका प्रतियोगिता कुन–कुन हुन् ?
हामीले सबै प्रतियोगितालाई स्वीकृत दिन सक्ने स्थिति छैन। एन्फाबाट स्विकृति लिएर चलेका गोल्डकपमा आहा–रारा, सिमरा, उदयपुर, झापा, माइ भ्याली, बुढा सुब्बा, खप्तड गोल्डकपजस्ता प्रतियोगिता छन् ।
क्लब लाइसेनिङ र रणनीतिक योजनाले यी समस्यालाई केही हदसम्म समाधान गर्न सक्छ ?
यी दुवै कार्यक्रम अब अनिवार्यजस्तै भैसकेका छन् । सुरुमा सुन्दा मात्र यस विषयमा फरक धारणा सिर्जना हुनसक्छ, तर यो असम्भव छैन । यी दुई कार्यक्रम लागू भएपछि प्रतियोगिता र क्लब दुवैले गति लिनेछन् ।
लिग फुटबल कहिले हुन्छ ?
चैतमा लिग फुटबल सुरु गर्ने योजना बनाएका छौं । यसपल्ट लिग सप्ताहन्तमा गर्ने र ६ महिनासम्म चलाउने योजना छ । बीचमा एकाध नकआउट प्रतियोगिता पनि सञ्चालन गर्नेछौं । क्लब लाइसेनिङमा जति क्लब आउने छन्, त्यसैलाई लिएर लिग प्रतियोगिता हुनेछ ।