साप्ताहिक संवाददाता
लन्डनको चिसिँदो मौसमको पर्वाह नगरी बेलायतका नेपाली युवा–युवतीहरू थेम्स नदीमा दौडिरहेको बोटमा रमाए । युवा पुस्तामा लोकप्रिय छ– बोट पार्टी । यसमा तन्नेरीहरू डिजेको संगीतसँगै थेम्स नदीको वरपरका मनोरम दृश्य नियाल्दै मज्जाले झुम्न पाउँछन् ।
उक्त पार्टीमा नेपालीसँगै चाइनिज, कोरियन, अफ्रिकन आदि सयौं युवाको सहभागिता थियो । टावर मिलिनियम पायरबाट रफ्तार लिएको बोटले टावर ब्रिज, लन्डन आई हुँदै सोही स्थानमा आई विश्राम पाएको थियो । २००८ मा नेपालीले नै आयोजना गरेको बोट पार्टीमा एक नेपाली युवाको मृत्यु भएको थियो । उक्त घटनायता नेपालीले आयोजना यो नै पहिलो बोट पार्टी हो ।
बोट पार्टीको आयोजना गरेको ‘पर्छ प्रोडक्सन’ यहाँका युवा पुस्तामा लोकप्रिय रहेको छ । पर्छ प्रोडक्सनले यसअघि अन्तर्राष्ट्रिय मन्च वेम्ब्ली एरिना लण्डनमा नेपथ्य समूहलाई सांगीतिक प्रस्तुती गराएर इतिहास रच्न सफल भएको थियो । पर्छ प्रोडक्सनले पार्टी र सांगीतिक कार्यक्रम मात्र नभई यूवा पुस्तालाई प्रेरित गर्न क्रिएटिभ एण्ड आर्टस् अन्तर्गत आर्ट एक्जिबिसन, फेशन शो, स्टोरी टेलिङ, नाटक, सर्ट फिल्म प्रदर्शन लगायत विविध कार्यक्रम गर्दै आएको छ ।