साप्ताहिक संवाददाता
कान्छीमाया कोजु कान्तिपुर हाफ म्याराथनकी सबैभन्दा सफल खेलाडी हुन् । सन् २०११ मा प्रारम्भ भएको यो दौडमा उनी पहिलो संस्करणकी विजेता हुन् । यसपल्ट पनि उनैले बाजी मारिन् । कान्छीले यो दौड जितेको चारपल्ट भएको छ । दौडको सात वर्षको इतिहासमा उनी प्रत्येक पल्ट बलियो दावेदार रहँदै आएकी छिन् । नेपाली एथलेटिक्समै सर्वाधिक सफल महिला धाविका कान्छीले मध्यम दूरीको दौडमा लगातार वर्चस्व कायम राख्दै आएकी छिन् ।
यसपल्ट कान्तिपुर हाफ म्याराथन जित्न कति गाह्रो भयो ?
निकै गाह्रो । अहिले म चोटग्रस्ट छु । त्यसैले पनि दौडमा पहिलो हुनेमा शंका थियो, तर जति बेला जितें त्यसपछि मेरो खुसीको सीमा रहेन । यो कान्तिपुर हाफ म्याराथनप्रति मेरो विशेष लगाव पनि छ ।
यसको कारण पनि छ कि ?
मैले सुरुमै कान्तिपुर हाफ म्याराथन जितेकी थिए । मैले सन् २०१३ र २०१४ मा पनि यो प्रतियोगिता जितें । अहिले फेरि जितेको छु । यही दौडका लागि मैले आफ्नो चोट पनि बिर्सिएकी हुँ ।
चोट कस्तो खालको हो ?
दार्जीलिङमा दौडने क्रममा घाइते भएकी थिएँ । त्यहाँको बाटो निकै कठिन थियो, उकालो–ओरालो । त्यसैले घाइते भएँ ।
अब के गर्नुहुन्छ ?
पहिले त कान्तिपुर हाफ म्याराथन नखेली आराम नगर्ने योजना बनाएकी थिएँ । मैले यो इभेन्ट्समा जसरी भए पनि दौडन्छु भनेर तयारी गरेकी थिएँ । दार्जीलिङबाट फर्किएपछि नै चिकित्सकले आराम गर्नु भनेका थिए । त्यसैले अब केही दिन आराम गर्नेछु ।
अबका केही दिन दौडिने कार्यक्रम हुने छैन ?
अब पूर्ण रूपमा आराम गर्नेछु, त्यसैले दुई साताजति दौडनेछैन । त्यसपछि फेरि बिस्तारै दौडन थाल्नुपर्छ । आउने एक महिना म कुनै पनि प्रतियोगितामा सहभागी हुन्नँ ।