साप्ताहिक संवाददाता
भारतका चर्चित मोडल/अभिनेता हुन्— मिलिन्द सोमन । उनलाई सुपर–मोडल पनि भनिन्छ । सोमन पूर्वखेलाडी पनि हुन् । सोमन ५१ वर्षका भैसके, तर उनी उत्तिकै फिट देखिन्छन् । यसै कारण पनि उनी फिटनेससम्बन्धी जागरण ल्याउन लगातार सक्रिय छन् । यसै क्रममा पछिल्ला केही महिना उनले काठमाडौं आउ–जाउ गरे, पिन्काथनका लागि । शिवरात्रिका अवसरमा आयोजित उक्त दौडका लागि यसपल्ट काठमाडौंलाई रोजिएको हो । सोमनसँग दशरथ रंगशालामा गरिएको पाँच प्रश्न :
यस्तो दौड किन आवश्यक छ ?
महिलाहरू आफ्नो परिवार र आफन्तको हेरचाहमा केन्द्रित हुन्छन्, तर उनीहरू आफ्नै स्वास्थ्यस्थितिप्रति भने सजग हुँदैनन् । पिन्काथनको उद्देश्य महिलामा उनीहरू स्वयंको स्वास्थ्यस्थितिका सम्बन्धमा जागरण ल्याउनु हो । यसपल्ट काठमाडौंमा आयोजित दौडको एजेन्डा भने स्तन क्यान्सरसम्बन्धी जागरण ल्याउनु थियो ।
महिलाले आफ्नो स्वास्थ्यका सम्बन्धमा के गर्न आवश्यक छ ?
सबैभन्दा खराब पक्ष सबैप्रति ध्यान दिने महिलाहरू आफ्नै स्थितिका सम्बन्धमा भने खासै ध्यान दिंदैनन् । जब महिलाको स्वास्थ्यस्थितिका बारेमा सबैले बुझ्छन्, त्यसबाट समाजमा बृहत् र सकारात्मक
असर पर्छ ।
महिलाका धेरै जिम्मेवारी भएर पनि यस्तो भएको हो कि ?
कारण नै यही हो । महिलामाथि धेरै जिम्मेवारी हुन्छ । त्यसैले उनीहरू आफ्नो स्वास्थ्यका लागि सामान्य अभ्यास गर्न पनि चुकिरहेका हुन्छन् । पिन्काथनको उद्देश्य महिलालाई उनीहरूको सक्रिय जीवनशैलीबाट सचेत गराउनु पनि हो । कामको बोझले फुर्सद नहुने कारण देखाएर सामान्य शारीरिक क्रियाकलापबाट समेत टाढिइरहेका हुन्छन् उनीहरू, यो राम्रो कुरा होइन ।
दशरथ रंगशाला आउँदा पुराना दिन पनि सम्झनामा आउँछ होला ?
पक्कै, दशरथ रंगशालासँग मेरा धेरै सम्झना जोडिएका छन् । सन् १९८४ मा नेपालमा पहिलो दक्षिण एसियाली खेलकुद आयोजना भएको थियो र म भारतको प्रतिनिधित्व गरेर यहाँ आएको थिएँ । त्यतिबेला मैले पौडीमा सहभागिता जनाएको थिएँ र त्यो मेरो पहिलो अन्तर्राष्ट्रिय स्पर्धा थियो ।
पहिलो स्पर्धामा पदक पनि जित्नुभयो ?
मैले पौडीमा भारतका लागि रजत पदक जितेको थिएँ । त्यसैले त काठमाडौं आउँदा म स्वप्निल हुन्छु । युवाअवस्थाको पहिलो अविस्मरणीय क्षण यही दशरथ रंगशालाको पौडी पोखरीमा निर्माण भएको
थियो मेरो ।