साप्ताहिक संवाददाता
नेपाली चलचित्रमा गैरआवासीय नेपाली (एनआरएन) निर्माताहरूको संख्या बढिरहेका बेला अभिनयमा पनि एनआरएनहरूको आगमन हुन थालेको छ । यसअघि आधा दर्जन एनआरएन युवती अभिनेत्रीका रूपमा पदार्पण गरिसकेको अवस्थामा झन्डै डेढ दशकदेखि बेलायतमा बसोबास गरिरहेका धुलावारी, झापाका सोहम भेटवाल चाँडै एउटा चलचित्रमार्फत दर्शकमाझ आउँदै छन् । अभिनेत्री नीता ढुंगानासँग ‘सफर...’ शीर्षकको म्युजिक भिडियोमा अभिनय गर्दै ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेका सोहमले भर्खरै छायांकन सम्पन्न भएको चलचित्र ‘शिवम’ मा अभिनेत्री शुभेच्छा थापासँग अनस्क्रिन रोमान्स गरेका छन् । साउन ३१ गते प्रदर्शनमा आउने उक्त चलचित्रबाट आफू अभिनयमा स्थापित हुने सोहमको विश्वास छ । अभिनय र नृत्यको प्रशिक्षणमा सक्रिय सोहम चलचित्रबाट प्रस्ताव आइरहे ढुक्कै यतै बसेर अभिनयलाई निरन्तरता दिने पक्षमा छन् ।