साप्ताहिक संवाददाता
कलाकार कविराज लामाले सगरमाथाको फेदीमा पुगेर उडकट प्रिन्ट बनाएका छन् जसमा लामाले जलवायु परिवर्तनको असरले हिउँ थोरै, चट्टान धेरै देखिने सगरमाथाको चित्रलाई प्रिन्टकलामा उतारेका छन् । समुद्री सतहभन्दा ५ हजार ३ सय ६४ मिटर अग्लो स्थानमा रहेको सगरमाथा आधार शिविरमा तीन रात, चार दिन बसेर उनले उक्त प्रिन्टकला तयार पारेका हुन् । टेन्टभित्रै स्टुडियो बनाएर काम गरेका कविराजले जलवायु परिवर्तनको असरलाई चित्रमा समेटेको बताएका छन् । कलाकार कविराजले अर्को वर्ष उक्त प्रिन्टकलाको प्रदर्शनी गर्ने जानकारी दिएका छन् ।
कलामा प्रकृति र जीवन
समता कला कार्यशालाको ५४ औं शृङ्खला पश्चिम क्षेत्रीय संग्रहालय पोखरामा सम्पन्न भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले प्रत्येक तेस्रो महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको कला कार्यशालामा कलाकार बुद्धि गुरुङ, क्षेत्रलाल कायस्थ, गोपाल श्रेष्ठ, यादव चन्द्र भुर्तेल, युवराज लामिछाने, ज्योति गुरुङ, हेमकान्ती गुरुङ, सन्तोष भण्डारी, उज्वल अधिकारी, मीना गुरुङ, एलिटा गुरुङ, लक्ष्मी तिलिजा पुन, नेन्सीला गौचन तथा विदा शाक्य आदिले पानी रङ प्रयोग गरी प्रकृति र जीवन जगत्लाई कलामा उतारेका थिए ।