साप्ताहिक संवाददाता
अभिनेत्री अनु शाहले अभिनय गरेको पछिल्लो चलचित्र हो पसिना, जसमा उनी अभिनेता गौरव पहारीसँग देखिने छिन् । यो चलचित्रमा काम गर्नुअघि अनुले अभिनय गरेको चलचित्र ‘भैरव’ प्रदर्शन भएको थियो । ‘पसिना’ पछि अनुसँग अन्य नयाँ चलचित्र छैनन् । यसअघि उनले अभिनय गरेका झन्डै एक दर्जन चलचित्र प्रदर्शन भए पनि सफल भएका चलचित्रको श्रेय अभिनेताले मात्र लाने क्रम बढेसँगै अनुको हातमा कम चलचित्र परेका हुन् । चलचित्रमा व्यस्त नभए पनि अनुलाई चिन्ता छैन । ‘मलाई म्युजिक भिडियोहरूले नै व्यस्त बनाइरहेका छन्, अनु भन्छिन्— ‘म हप्तामा दुई–तीन वटा भिडियोमा काम गरिरहेकी छु ।’ यद्यपि उनी चलचित्रको जस्तो सन्तुष्टि भिडियोबाट प्राप्त नहुने समेत बताउँछिन् । चलचित्रमा फिट हुनैका लागि फिजिकल फिट्नेसमा समेत ध्यान दिन थालेकी अनुमाथि निर्माता–निर्देशकको ध्यान कहिले आकर्षित हुने हो, यसै भन्न सकिँदैन ।