धरानमा हुने नगर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न मुख्य राजनैतिक दलहरू लागि परेका छन् । नेकपा एमालेका गढका रूपमा परिचित धरानमा यसपटक नेपाली कांग्रेसले एमालेलाई कडा टक्कर दिने देखिन्छ । २०४८ सालदेखि नै एमालेको पकड रहेको धरानमा हरेक निर्वाचनमा कडा टक्कर दिँदै आएको नेपाली कांग्रेस यसपटक जित निकाल्दै नयाँ इतिहास रच्ने दाउमा छ । पहिलो संविधानसभामा सुनसरी–१ हालको धरान उपमहानगरपालिकामा उत्साहजनक जित निकालेको नेकपा माओवादी केन्द्र पनि धरानमा आफ्नो वर्चश्व कायम गर्ने सुरमा पाइन्छ ।
मुख्य पदमा तीन ठूला दलबीचको प्रतिस्पर्धा देखिए पनि चौथौ शक्तिका रूपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत केही वडामा जित निकाल्ने दाबी गर्दै आएको छ । एमालेले पुराना नेता तथा धरान उपमहानगरपालिका अध्यक्ष तारा सुब्बालाई मेयरमा उठाएको छ भने उपमेयरमा महिला सञ्जाल धरानकी सहसचिव मञ्जु भण्डारी सुवेदीलाई अघि सारेको छ ।
कांग्रेसले भने नगरसभापति समेत रहेका यातायात व्यवसायी तिलक राईलाई मेयर तथा श्यामा रेग्मीलाई उपमेयरमा उठाएको छ । माओवादी केन्द्रले युवा नेता अइन्द्र विक्रम वेघालाई मेयरका रूपमा अघि सारेको भए पनि उपमेयरमा भने अन्य साना दलसँग सहकार्यका लागि विकल्प खुला छाडेको छ । पारस काङवाङलाई उपमेयरमा उठाएको संघीय समाजवादी फोरमसँग तालमेल गरेर जाने माओवादी केन्द्रको तयारी छ । तालमेल नभए माओवादी केन्द्रबाट उपमेयरमा चेतना श्रेङ र लक्ष्मी प्रधानमध्ये एक जना उम्मेदवार बन्नेछन् । चौथो शक्तिका रूपमा रहेको राप्रपाले भने मेयरमा महिला उम्मेदवारलाई अघि सारेको छ । उसले तारा शाक्यलाई मेयर तथा प्रकाश राईलाई उपमेयरको उम्मेदवार बनाएको छ ।
धरानका केही वडामा भने स्वतन्त्र उम्मेदवारसमेत छन् । १ नम्बर वडामा सुनसरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पवनकुमार अग्रवालले उम्मेदवारी घोषणा गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादीले समेत धरान उपमहानगरपालिकाको निर्वाचनमा सहभागी हुने जनाएको छ । धरानमा सबैभन्दा धेरै मतदाता राई समुदायको (१८ हजारभन्दा धेरै) छ । जसले राई समुदायको मत प्राप्त गर्न सक्यो उसैले चुनाव जित्ने अनुमान धेरैको छ ।
धरानमा रहेका अधिकांश राजनैतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटनलाई मुख्य प्राथमिकतामा राखेका छन् । सबै दल धरानलाई पर्यटन हवका रूपमा विकास गर्ने योजना लिएर मतदातामा पुगिरहेका छन् । एमालेले केबल कारसँगै कृषि तथा धार्मिक पर्यटनमा जोड दिएको छ भने माओवादीले मिनी रेल्वेसँगै धरानको विकासका लागि पर्यटनको विकास आवश्यक रहेको ठहर गरेको छ । धरानको ऐतिहासिक धरोहरका रूपमा रहेको विजयपुर क्षेत्र तथा ऐतिहासिक महत्व बोकेको विष्णुपादुकालाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने कुरालाई दलहरूले आफ्नो घोषणापत्रमा प्राथमिकता
दिएका छन् ।
धरान उपमहानगरपालिका
जनसंख्या | १ लाख ३८ हजार |
---|---|
क्षेत्रफल | १९२ दशमलव ५ वर्गकिलोमिटर |
मतदाता | ७९ हजार २ सय ९० |
वडा | २० |
जनप्रतिनिधि | १ सय ५ |
मतदानस्थल | २८ |
मतदान केन्द्र | ८० |
स्रोत | निर्वाचन आयोग |