कुनै बेला थियो, उच्च शिक्षाका लागि पश्चिम नेपालका युवाहरू काठमाडौं वा नजिकका भारतीय सहर धाउँथे, तर पछिल्लो दशकमा नेपालगन्ज लगायतका सहरहरूमा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले युवाहरूलाई स्वदेशमै, त्यसमा पनि आफ्नै क्षेत्रमा रोकेको छ ।
काठमाडौंबाहिर चलनचल्तीका नयाँ कोर्स छिटो भित्रिने प्रमुख सहरमध्ये नेपालगन्ज पनि एक हो । यहाँ बर्सेनि नयाँ विषय र कलेजहरू थपिने क्रम जारी छ । कुनै बेला मुस्किलले नर्सिङ कलेज मात्र देखिने यो सहरमा अहिले टेक्निकल कलेजहरूको बाढी नै आएको छ । विद्यार्थीले आफूले चाहेको विषय रोजेको कलेजमा पढ्ने वातावरण तयार भएको छ । एक दशकअघिसम्म नेपालगन्जमा एकाध मात्र टेक्निकल कलेज थिए । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीहरू नेपालगन्जभन्दा बाहिर जानुपर्ने बाध्यता थियो ।
त्यही नेपालगन्जमा अहिले चिकित्सा शास्त्र अध्ययनका लागि नेपालीभन्दा भारतीय तथा श्रीलंकन विद्यार्थी बढी आउन थालेका छन् । नेपालगन्ज मेडिकल कलेजले हरेक वर्ष १ सय ५० जनालाई एमबीबीएस गराउ‘दै आएको छ । नेपालगन्ज नेपालका लागि मात्र होइन, भारतीय विद्यार्थीहरूका लागि पनि शैक्षिक हबका रूपमा विस्तार भैरहेको छ । यसलाई अझ विस्तार गर्न सरकारी स्तरबाटै टेक्निकल कलेज खुल्नुपर्छ, शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध/निर्देशक डा. सुरेशकुमार कनौडिया भन्छन्– नेपालगन्जमा नयाँ विषय पढाइ हुने कलेजहरू धमाधम स्थापना भैरहेका छन् । यसले विद्यार्थीहरूको मागसमेत पूरा गर्दै आएको छ । नेपालगन्जमा प्रदेश नम्बर ५, ६ र ७ का युवा विद्यार्थीहरूको आकर्षण छ । यसले उनीहरूको सपना पूरा भएको छ । भारतमा पढ्न जाने विद्यार्थीहरू यहीं रोकिएका छन् ।
नेपालगन्जमा व्यवस्थापन, बीबीएस, आईटी, सामाजिक कार्य एवं होटल म्यानेजमेन्टका कलेजहरू स्थापना भैसकेका छन् । नर्सिङ कलेजमा विद्यार्थीको चाप उत्तिकै छ । यो क्षेत्रकै सबैभन्दा पुरानो महेन्द्र बहुमुखी क्याम्पसमा भने पुरानै विषय पढाइ हुने गरेको छ । त्यहाँ इतिहास, भूगोल, नेपाली, अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकाय अध्यापन हुन्छ । कानुन संकायको एलएलबीसम्म तथा अन्य विषयमा स्नातकोत्तरसम्म अध्ययन गर्ने व्यवस्था यहाँ छ ।
अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले नेपालगन्जमा सबै विषय पढाइ हुने कलेजहरू खुलिसकेको बताए । महेन्द्र बहुमुखी क्याम्पसमा पुराना विषयको स्नातकोत्तरसम्म पढाइ हुन्छ । अन्य कलेजमा युवाहरूले रोजेका विषयमा पढाइ हुने गरेको छ, शाह भन्छन्– अहिले चल्तीका सबै विषयको पढाई यही हुने गरेको छ । राजनीतिक शास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यले नेपालगन्जमा करिव सबै विषयका पढाइ हुने कलेजहरू खुलिसकेकाले शैक्षिक हबका रूपमा विकास भैरहेको बताए । यद्यपि भौतिक संरचना एवं गुणस्तरमा थप जोड दिनुपर्ने आचार्यको सुझाव छ । आचार्य भन्छन्– गुणस्तरीय पढाइ हुने हो भने नेपालगन्ज शैक्षिक हबका रूपमा परिचित हुनसक्छ ।
कलेज अफ म्यानेजमेन्ट इन्जिनियरिङ कलेजमा स्नातक तहको पढाइ हुने गरेको छ । यो कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालनमा आएको हो । यसअघि इन्जिनियर पढ्न काठमाडौं, पोखरा र भारतका विद्यालयमा जानुपर्ने बाध्यता थियो । कलेज अफ एलाइड हेल्थ साइन्समा एचए, नर्सिङ, ओभरसियर, ल्याब टेक्निसयन आदि विषयमा पढाइ हुने गरेको छ । विषय पढ्न चाहने विद्यार्थीले नेपालगन्जमै पढ्न पाएका छन् । इच्छाअनुसारको पढाइका लागि मुलुकका सबैजसो स्थानबाट विद्यार्थी आउने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नर्सिङ कलेजमा बीएसस्सी नर्सिङसम्मको पढाइ हुने गरेको छ । त्यसबाहेकका निजी नर्सिङ कलेजका कारण नेपालगन्ज नर्सिङ पढाइका लागि अर्को आकर्षणको केन्द्र बनेको छ । त्यस्तै, १० कक्षासम्म अध्ययन गरेका युवाहरूका लागि सीप विकास गर्न नेपालगन्जमै भेरी प्राविधिक शिक्षालय छ । जहाँ इलेक्ट्रिकल, मेकानिकल, ब्युटिसियन आदि प्राविधिक विषय अध्यापन हुन्छ । नेपालगन्ज टेक्निकल कलेजमा सिएमए, ओभरसियर, नापी (जग्गा नापजाँच) आदि विषय पढ्न सकिन्छ । हरेक वर्ष सयभन्दा बढी विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि नेपालगन्ज आइपुग्छन् । कैलपाल अस्पतालमा एचए, मध्यपश्चिम प्राविधिक शिक्षालयमा डिप्लोमा इन फार्मेसी आदि विषय अध्यापन हुन्छन् ।