सात नम्बर प्रदेशको एकमात्र उपमहानगर धनगढीमा प्रचण्ड गर्मीसँगै चुनावी वातावरण पनि तातेको छ । मुख्य राजनैतिक दलहरूले उपमहानगरको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
सात नम्बर प्रदेशका ८ जिल्ला, मध्यपश्चिमका ६ पहाडी जिल्ला, पूर्वी नेपालका विभिन्न क्षेत्रबाट बसाइँसराइ आएका बासिन्दा तथा आदिवासी राना थारु, डंगौरा थारुसहितको ठूलो जनसंख्या भएको धनगढी उपमहानगरमा दलहरूबीच मात्र भिडन्त नभई स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय व्यापारी एवं उद्योग विकास अभियन्ता गोपाल हमालले पनि कडा प्रतिस्पर्धा गर्ने देखिन्छ । पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन जितेको क्षेत्र नम्बर ६ मा पर्ने धनगढी कांग्रेसका लागि प्रतिष्ठाको विषय भएको छ । लामो रस्साकस्सीपछि कांग्रेसले दलित नेता नृप वडलाई उपमहानगरको मेयरको उम्मेदवार बनाएको छ ।
सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र र सम्भावित प्रदेश राजधानीका रूपमा चर्चामा रहेको धनगढी उपमहानगरमा हरेक पटकको चुनावी परिणाम अनुमान गरेभन्दा भिन्न हुँदै आएकाले पनि प्रमुख दलहरूका लागि धनगढी उपमहानगरको निर्वाचन चुनौतीपूर्ण छ । ०५४ मा एमालेले कब्जा गरेको यो उपमहानगरमा पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । धनगढी उपमहानगरमा झन्डै ३७ प्रतिशत थारु मतदाता छन् । मुख्य दलमध्ये माओवादी केन्द्रले रामसमझ रानालाई प्रमुख पदमा उम्मेदवार बनाएको छ । धनगढीमा राना थारुपछि क्षेत्री १८ प्रतिशत, ब्राह्मण ११ प्रतिशत तथा दलित ७ दशमलव ५ प्रतिशत मतदाता छन् ।
दलित नेता वड सबैलाई चुनौती
अछामको एउटा गरिब दलित परिवारमा जन्मिएका नृप वड अहिले पश्चिम नेपालको एकमात्र उपमहानगरको कांग्रेस उम्मेदवारका रूपमा चर्चित छन् । सम्भवत: देशका सबै उपमहानगर तथा महानगरको प्रमुख पदमा उनी एक्ला दलित उम्मेदवार पनि हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका वड नेविसंघ हुँदै कांग्रेसको राजनीतिमा प्रदेश नम्बर ७ मा महत्वपूर्ण स्थान बनाउन सफल नेता पनि हुन् । कांग्रेस राजनीतिमा लोकप्रिय नृप सार्वजनिक जीवनमा समेत उत्तिकै चर्चित छन् । उनी उम्मेदवार मात्र होइनन् सभ्य कहलिन चाहने समाजका लागि चुनौती पनि हुन्, समाजको नेतृत्व गर्ने क्षमता र हैसियत जातीय रुपमा होइन योग्यता र क्षमताका आधार हुन्छ भन्ने एउटा उदाहरण पनि हुन् ।
प्राध्यापक डा. भोजराज पन्त भन्छन्– वडको जित–हारले सुदूरपश्चिमको समाजलाई आफ्नो अनुहार ऐनामा हेर्न पनि ठूलो मद्दत गर्नेछ । समाज उस्तै छ कि परिवर्तनको दिशामा छ यसले निक्र्यौल गर्नेछ । धनगढीले समग्र ७ नम्बर प्रदेशको राजनीतिलाई दिशानिर्देश गर्छ । राजनैतिक विश्लेषक प्राध्यापक त्रैलोक्यनाथ जोशी भन्छन्– यो उपमहानगरको जित हारले प्रदेश तथा संसदीय निर्वाचनलाइ प्रभावित गर्ने भएकाले पनि अहिले सबै दलले यसलाइ आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।
यसबाहेक उपमहानगरमा एमालेवाट उम्मेदवार बनेका दुर्गा जोशी पनि उत्तिकै लोकप्रिय छन् । डोटीवाट बसाइँसराइ आएका जोशी पेसाले शिक्षक हुन् । शिक्षण पेसासँगै राजनीतिमा लागेका जोशी ०५४ यता एमालेमा क्रियाशील भएका हुन् । उनलाई एमालेले जातीय तथा भेगीय समिकरणलाई ध्यानमा राखी निर्वाचनमा उतारेका हो । विवादरहीत रूपमा माओवादी केन्द्रले चयन गरेका उम्मेदवार रामसमझ राना उपमहानगरमा ३७ प्रतिशत मत रहेको थारु समुदायका एक्ला उम्मेदवार हुन् । अन्य दलभन्दा तुलनात्मक रूपमा कमजोर संगठन भएको माओवादी रानाकै कारण प्रष्तिपर्धामा आउन सक्ने अनुमान गरिन्छ ।
धनगढी उपमहानगरपालिका
जनसंख्या | १ लाख ४७ हजार ७ सय ४१ |
क्षेत्रफल | २ सय ६२ वर्ग किलोमिटर |
मतदाता | ७६ हजार ४ सय ३० |
वडा | १९ |
जनप्रतिनिधि | १ सय |
मतदानस्थल | ३३ |
मतदान केन्द्र | ८६ |