नुवाकोटको ककनीमा तीन दिनसम्म आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले क्यानोनिङ (छाँगावरोहण) महोत्सव सम्पन्न भयो । उक्त महोत्सवका सहभागीहरूले ककनी गाउँपालिका, पौवाथोकस्थित भुल्भुले छाँगावरोहण गरेका थिए ।
उनीहरूलाई १० जना रिप्रेसर तथा ५ जना प्रोफेसनल गाइडहरूले क्यानोनिङ गर्न सिकाएका थिए । लमजुङ, सिन्धुपाल्चोक, कास्की, नुवाकोट आदि जिल्लामा यो खेलका नियमित आयोजना हुने गरेको छ । क्यानोनिङका सम्बन्धमा केही जानकारी नभए पनि डोरीको सहायताले लाइफ ज्याकेट लगाएर छाँगामा खेलिने यो खेलले आफूलाई आनन्दित तुल्याएको सहभागी दिनेश ढुंगेलले बताए । सुरुमा डर लागे पनि अरूले गरेको देखेर पनि आनन्द लागेको कार्यक्रममा सहभागी टानका अध्यक्ष चन्द्र रिजालले बताए ।
नेपाल क्यानोनिङ एसोसिएसनको आयोजनामा सञ्चालित महोत्सवको पहिलो दिन स्वदेशी तथा विदेशीहरूको उल्लेख्य सहभागिता थियो । शनिबार र आइतबार व्यवसायिक रूपमा लगभग १ हजार जना क्यानोनिङमा सहभागी भएको आयोजक नेपाल क्यानोनिङ एसोसिएसनका कोषाध्यक्ष छत्रबहादुर बस्नेतले बताए ।
नेपाल पर्यटन बोर्ड, ट्रेकिङ एजेन्ट एसोसिएसन नेपाल (टान) तथा पर्यटनसँग सम्बन्धित अन्य संस्थाहरूको सहयोगमा ककनी गाउँपालिका–५ स्थित ५० मिटर लामो भुल्भुले झरनामा पहिलो पटक क्यानोनिङ महोत्सव सञ्चालन गरिएको हो । नेपालमा पर्वतारोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ जस्ता साहसिक पर्यटकीय गतिविधि लोकप्रिय भैरहेका बेला पहाडका अग्ला झरनाबाट डोरीको सहायताले झर्दै खेलिने छाँगावरोहणमा स्वदेशी तथा विदेशीहरूको आकर्षण बढाउन यो महोत्सवको आयोजना गरिएको आयोजक नेपाल क्यानोनिङ एसोसिएसन नेपालका अध्यक्ष राजेन्द्रबहादर लामाले बताए ।
सन् २०१३ मा पहिलो पटक भोटेकोसीमा छाँगावरोहण महोत्सव सञ्चालन गरेको एसोसिएसनले गत वर्ष नुवाकोटको थानापतिस्थित छहरे झरनामा दोस्रो छाँगावरोतहण महोत्सव सम्पन्न गरेको थियो ।