तरल मतदाता रहेको नेपालगन्ज उपमहानगरमा कुन राजनैतिक दलले बाजी मार्ला ? यो प्रश्न हरेक निर्वाचनमा उठ्दै आएको छ । मधेस आन्दोलनपछि भएको संविधानसभाको निर्वाचनमा प्रमुख दललाई चुनौती दिइसकेका मतदाताहरू यसपटकको निर्वाचनमा के गर्लान् ? सबैको चासोको विषय बनेको छ ।
यद्यपि यहाँ मुख्य प्रतिस्पर्धा भने एमाले, कांग्रेस, माओवादी केन्द्र तथा राप्रपाबीच हुने देखिन्छ । एमालेले नेपालगन्जको मेयरमा मुस्लिम नेता तथा पूर्व मेयर समसुद्दिन सिद्दिकीलाई उम्मेदवार बनाएको छ । एमाले मुस्लिम मतदातालाई रिझाएर आफ्नो जित सुनिश्चित गर्ने दाउमा छ । नेपालगन्जमा करिब २८ प्रतिशत मुस्लिम मतदाता छन् । यतिबेला मुस्लिम समुदाय रोजाको व्रतमा छन् । रोजाका बेला कबुल गरिएको कुरा अकाट्य हुन्छ । त्यसैले सिद्दिकी रोजामा रहेका मतदातालाई घरदैलोमै गएर भेटिरहेका छन् । जित निश्चितजस्तै छ, सिद्दिकी भन्छन्— मेरो पक्षमा राम्रो चुनावी वातावरण छ ।
कांग्रेसले मधेसी भोट क्यास गर्न शिक्षण अस्पताल नेपालगन्जका प्रबन्ध निर्देशक डा. सुरेश कनौडियालाई उम्मेदवार बनाएको छ । कनौडियाको उम्मेदवारीले नेपालगन्जमा प्रसस्त चर्चा पाएको छ । डा. कनैडिया पेसाले चिकित्सक हुन । मधेसी एवं मुस्लिम समुदायका साथै अन्य समुदायका मानिसहरूले पनि डा. कनौडियालाई प्रभावशाली व्यक्तित्व मान्छन् । ‘अहिलेसम्म राम्रै रेस्पोन्स पाइरहेको छु । सबैको साथ रहे जित हासिल हुन्छ,’ डा. कनौडिया भन्छन् । माओवादी केन्द्रले भने उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यलाई उम्मेदवार बनाएको छ । उनी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् ।
राप्रपाका पूर्वमेयर धवलशमशेर राणा पनि उत्तिकै चर्चामा छन् । राणालाई नेपालगन्जमा विकास प्रेमीका रूपमा चिनिन्छ ।
संघीय समाजवादी फोरम नेपालले मुस्लिम समुदायका कमरुद्दिन राईलाई उम्मेदवार बनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका
जनसंख्या | १ लाख ३८ हजार ९ सय ५१ |
क्षेत्रफल | ८५ दशमलव ९४ वर्गकिलोमिटर |
मतदाता | ६२ हजार ३ सय ९६ |
वडा | २३ |
जनप्रतिनिधि | १ सय १७ |
मतदानस्थल | २३ |
मतदान केन्द्र | ३४ |