एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको मेयरका लागि पुरानाविरुद्ध नयाँ उम्मेदवारबीचको भिडन्त रोचक बन्ने देखिन्छ । यहाँ मूलत: चारपक्षीय भिडन्त हुने बताइन्छ । एमाले र राप्रपाले पूर्वमेयरहरू क्रमश: रोमनाथ ओली र राम थापालाई चुनावी मैदानमा उतारेका छन् । कांग्रेस र माओवादीले भाइ पुस्ताका नेतालाई अवसर दिएका छन् । दमकमा कांग्रेसका ढुण्डीराज भण्डारी तथा माओवादी केन्द्रका रेवतराज (गगन) पुरी मैदानमा छन् ।
रोमनाथ २०५४ सालको निर्वाचनमा मेयर पदमा विजयी भएका थिए । दमक नगरपालिकाको चुनावमा भिड्न लागेका दुई अनुहार एमालेका रोमनाथ ओली र राप्रपाका महामन्त्री समेत रहेका राम थापा पुराना अनुहार हुन् भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएका गगन पुरी एवं नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका ढुन्डीराज भण्डारी नयाँ अनुहार हुन् । राप्रपाले उम्मेदवार बनाएका राम थापा शाही शासनकालका टीके मेयर पनि हुन् । राजावादीको छवि बनाएका थापालाई तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो प्रत्यक्ष शासनकालमा दमकको मेयर बनाएका थिए । राप्रपाको सह–महामन्त्रीसमेत रहेका थापा आफूलाई दमकवासी जनताले लामो समयदेखि विश्वास गरेको बताउँछन् ।
माओवादी केन्द्रका उम्मेदवार रेवतराज (गगन) पुरी गत चैततिरै उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारमा जुटेका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्य पुरीले २२ वर्षदेखि अलपत्र रहेको दमकदेखि पाँचथरको रवि–चिसापानीसम्मको फाल्गुनन्द मार्गको निर्माणलाई सुचारु गर्ने र करिब २ वर्षभित्रै कालोपत्रे गर्ने बताएका छन् । कांग्रेसले मेयरको उम्मेदवार बनाएका ढुन्डीराज भण्डारी दमक नगरका पूर्व पार्टी सभापति पनि हुन् ।
दमक नगरपालिका
जनसंख्या | ७९ हजार ६ सय ४८ |
क्षेत्रफल | ७५ दशमलव ८५ वर्गकिलोमिटर |
मतदाता | ४६ हजार ५ सय २३ |
वडा | १० |
जनप्रतिनिधि | ५५ |
मतदानस्थल | १९ |
मतदान केन्द्र | ५५ |