साप्ताहिक संवाददाता
हरेक सप्ताहन्तमा परिवार वा साथीहरूसँग कुनै विशेष रेस्टुराँ वा लाउञ्जमा गएर रमाइलो त गरिएकै हुन्छ । विविध विशेषता बोकेका सहरका केही रेस्टुराँ तथा क्याफेहरूको सामूहिक क्याफे तथा रेस्टुराँको संगम अर्थात फुडकोर्टमा गएर पनि रमाइलो गर्न सकिन्छ ।
काठमाडौं फुडकोर्ट त्यही विशेषता बोकेको एउटा रमाइलो स्थल हो । कमल पोखरीस्थित सिटी सेन्टरको चौथो तलामा अवस्थित काठमाडौं फुडकोर्टमा बाजेको सेकुवाका परिकार, काठमाडौं बिन्सका कफी, केटिएम क्याफेका कन्टिनेन्टल स्वादलगायत फिस एन्ड फ्राइका माछाका साथै नेवारी, चाइनिज, भारतीय, अमेरिकन स्वादमा रमाउँदै बिहान ११ बजेदेखि राति ११ बजेसम्म अलमलिन सकिन्छ ।
लिकर्सका पारखीहरूका लागि फुडकोर्टको एउटा कुनामा रहेको बारमा हरेक किसिमका अल्कोहलिक तथा ननअल्कोहलिक पेय उपलब्ध हुन्छन् । यहाँ हरेक शुक्रबार साँझ ५ बजेदेखि राति ९ बजेसम्म लाइभ म्युजिक सुन्न पाइने व्यवस्था पनि छ ।