पश्चिम नेपालको प्रमुख औद्योगिक एवं व्यापारिक केन्द्र बुटवल उपमहानगरको निर्वाचनले यतिबेला प्रदेश नम्बर–५ को मात्र नभै समग्र मुलुककै ध्यान खिचेको छ ।
बुटवल एमाले उपमहासचिव विष्णु पौडेलले दुईवटै संविधानसभा चुनाव जितेको तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको गृहनगरका रूपमा पनि चर्चामा छ । बुटवल उपमहानगरमा एमालेको विरासत तोड्न भन्दै नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि बुटवलको चुनावलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीचको लडाइका रूपमा समेत हेरिएको छ । बुटवल उपमहानगरको नेतृत्व लिने दौडमा कांग्रेस–माओवादी गठबन्धनबाट कांग्रेसका युवा नेता खेलराज पाण्डे मेयरको उम्मेदवार बनेका छन् भने एमालेबाट शिवराज सुवेदी । पाण्डे कांग्रेस बुटवल नगर सभापति हुन् भने सुवेदी एमालेका जिल्ला अध्यक्ष हुन् । उपमेयरमा कांग्रेसले माओवादीका जगत पोखरेललाई समर्थन गरेको छ भने एमालेबाट गोमा आचार्यले उम्मेदवारी दिएकी छिन् । कांग्रेसले माओवादी केन्द्रसँग मेयर र उपमेयरमा तथा वडास्तरमा राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेपछि एमालेलाई आफ्नो विरासत कायम राख्न चुनौती थपिएको छ ।
बुटवललाई महानगरपालिका, ५ नम्बर प्रदेशको राजधानी तथा देशकै औद्योगिक एवं आर्थिक केन्द्र बनाउने, सुकुम्बासीलाई लालपुर्जा दिनेदेखि स्मार्ट र स्याटेलाइट सिटी बनाउनेसम्मका आश्वासन दुवै दलका उम्मेदवारले दिएका छन् । एमाले आफ्नो साख जोगाउने कसरतमा छ भने, कांग्रेस–माओवादी एमालेको किल्ला भत्काउने दाउमा छन् ।
कांग्रेस उम्मेदवार पाण्डेले बुटवल उपमहानगरपालिकाको सुकुम्बासी समस्या अन्त्य गर्ने, जितगढी किल्लालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने, नमुना अटो भिलेजको स्तरोन्नति गर्ने, बुटवलको मुख्य पर्यटकीयस्थल मणिमुकुन्द सेन उद्यानलाई महानगरपालिका कार्यालय मातहत ल्याउनेलगायतका प्रतिवद्धता व्यक्त गरेका छन् । एमाले उम्मेदवार शिव सुवेदीले बुटवललाई ५ नम्बर प्रदेशको राजधानी बनाउने, महानगरपालिका बनाउन पूर्वाधार निर्माण गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारको केन्द्र तथा प्रविधि एवं सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा तत्कालीन बुटवल नगरपालिकाको मेयरमा एमालेका भोजप्रसाद श्रेष्ठले जित हाँसिल गरेका थिए । २०४९ को स्थानीय निकायको निर्वाचनमा भने कांग्रेसका सूर्यप्रसाद प्रधानले मेयरको निर्वाचन जितेका थिए । २०६४ को आम निर्वाचनमा एमालेले ३ हजार मतले विजय हासिल गरेकोमा २०७० को आम निर्वाचनमा एमालेले त्यसलाई ६ हजारभन्दा बढी मत अन्तरमा पु¥याएको थियो । बुटवलमा ९७ पदका लागि ४ सय ३९ जनाको मनोनयन दर्ता भएको छ जसमा मेयरमा १६ जना तथा उपमेयरमा १२ जना छन् ।
बुटवल उपमहानगरको नतिजालाई तलमाथि पार्ने वडा नम्बर ११ ले हो, जहाँ १२ हजार मतदाता छन् । बुटवलको मेयर पदमा नयाँ शक्ति र संघीय समाजवादी फोरमसहित सातवटा साना दलले स्वतन्त्र उम्मेदवार होमबहादुर गलामीलाई समर्थन गरेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीले पूर्वसैनिक क्याप्टेन जनकबहादुर थापालाई मेयर पदको उम्मेदवार बनाएको छ ।
बुटवल उपमहानगरपालिका
जनसंख्या | १ लाख ३८ हजार ७ सय ४२ |
क्षेत्रफल | १ सय १ दशमलव ६ सय १३ वर्गकिलोमिटर |
मतदाता | ६६ हजार ९० |
वडा | १९ |
जनप्रतिनिधि | ९७ |
मतदानस्थल | २० |
मतदान केन्द्र | ७४ |