टीकापुर घटनाका कारण चोटग्रस्त टीकापुर अहिले चुनावमय भएको छ । यो निर्वाचनमा सबै दलले शान्ति र सदभावलाई मुख्य एजेन्डाका रूपमा अघिसारेका छन् । अछामी र थारु समुदायको बाहुल्यता रहेको टीकापुर नगरपालिकामा नेका, एमाले, माओवादी तथा लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
यहाँ बाक्लो बसोबास रहेको थारु समुदायको मत तान्न सबै दलले जोड गरिरहेका छन् । लोकतान्त्रिक फोरमका लौटन चौधरी थारु समुदायबाट मेयर पदका बलिया उम्मेदवार मानिएका छन् । पछिल्लो संविधान सभामा यो क्षेत्रमा फोरम लोकतान्त्रिकले नै जितेकाले पनि उनी बलिया मानिएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रामकृष्ण चौधरी थारु समुदायका अर्का उम्मेदवार भए पनि राप्रपा त्यति बलियो नदेखिएकाले थारु समुदायको बढी मत फोरम लोकतान्त्रिकलाई जाने विश्लेषण गरिँदै छ । थारु समुदायको बढी मत आउने भएकाले आफँले चुनाव जित्ने लोकतान्त्रिक फोरमका उम्मेदवार लौटन चौधरीको दाबी छ । चौधरी भन्छन्, ‘समुदायहरूबीच फाटो आयो । यसलाई मिलाएर लाने मेरो लक्ष्य हो ।’
एमालेका तपेन्द्र रावल युवाहरूमाझ लोकप्रिय मानिन्छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका रावल औपचारिक शिक्षामा स्नातकोत्तर हुन् । नयाँ पुस्ताको भावना बुझेका रावलको जोड पनि शान्ति र सद्भावमा छ । ‘शान्ति र सद्भाव बिना गाउँ–ठाउँको विकास असम्भव छ । शान्ति र सद्भाव कायम गरेर टीकापुरलाई समृद्ध नगर बनाउँछु,’ रावल भन्छन् । २०५४ सालको स्थानीय निर्वाचनमा टीकापुरमा एमालेले जितेकाले फेरि पनि एमालेकै जित हुने उनको दाबी छ ।
कांग्रेसका मेयर पदका उम्मेदवार जंगबहादुर साउद नेपाली कांग्रेसका पुराना नेता हुन् । ठाउँ र समाज बुझेका पाका नेताका रूपमा परिचित साउद भन्छन्, ‘समाज कांग्रेसले मिलाउँछ । विगतदेखि यही भएको छ ।’ माओवादी केन्द्रका ललित थापा गरी खाने नेताका रूपमा चिनिएका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि टीकापुरमा भैंसीपालन व्यवसाय गरेर नमुना कृषकको परिचय पनि बनाएका थापा भन्छन्, ‘म गरी खाने वर्गको प्रतिनिधित्व गर्छु । गरिखानेले मलाई भोट दिन्छन् । शान्ति र सद्भाव कायम गरेर समाजलाई समृद्ध बनाउँछु ।’ गणतन्त्र र संघीयताको एजेन्डा माओवादीको भएको र यो एजेन्डालाई संस्थागत गर्न पनि माओवादीलाई नै भोट आउने माओवादी नेताहरूको दाबी छ ।
सबै दलले थारु समुदायबाट उल्लेख्य उम्मेदवारी दिएका छन् । फोरम लोकतान्त्रिकबाट भने टीकापुर नगरपालिकामा तपेन्द्र रावल वडाध्यक्षका एक्लो पहाडी उम्मेदवार हुन् । माओवादी केन्द्रले २४ जना उम्मेदवार थारु समुदायबाट उठाएको जनाएको छ । एमालेका १२ जना उम्मेदवार थारु समुदायका छन् भने नेकाले १८ जना थारु उम्मेदवार उठाएको छ ।
टीकापुर नगरपालिका
जनसंख्या | ७६ हजार ४८ |
क्षेत्रफल | १ सय १८ दशमलव ३३ वर्गकिलोमिटर |
मतदाता | ३९ हजार १ सय ९२ |
वडा | ९ |
जनप्रतिनिधि | ५० |
मतदान स्थल | १६ |
मतदान केन्द्र | ४३ |