पछिल्लो परिवर्तनले नेपाललाई संघीय गणतन्त्रका रूपमा स्थापित गरेपछि नेपाली जनतामा आफ्नो देश घुम्ने, प्राकृतिक दृश्यहरू अवलोकन गरी रमाउने नयाँ रहरले जन्म लिएको छ । स्वच्छन्द भएर घुम्न सक्ने सुरक्षित राजनैतिक वातावरणमा नेपाली जनता स्वाद लिई–लिई देश घुम्न र देशको सांस्कृतिक वातावरणसँग परिचित हुन थालेको छ । धनीमानी मानिसहरू त देश–विदेश घुमिरहेकै हुन्, तर सानो लगानीबाट चलेका साना व्यापारी, व्यवसायी, शिक्षक एवं समाजसेवीहरू पनि देश भ्रमणमा जोडिन थालेका छन् । यसको एउटा राम्रो उदाहरण बनेका छन् पुरानो बानेश्वर निवासी सुरेश खड्गी र
उनका साथीहरू ।
सुरेश मासु व्यवसायी हुन् । सूर्यविक्रम ज्ञवाली मार्गमा उनको एउटा सानो मासु पसल छ । सरदर दिनको एउटा खसी काट्छन् । ‘सरदर एउटा भने पनि महिनाको ४०–५० खसीको मासु खपत हुन्छ यो टोलमा,’ सुरेश बताउँछन् । वास्तवमा यो टोल निम्न मध्यमवर्गीय परिवारको आवास क्षेत्र हो । छन त ठूला वर्गका मानिस पनि छन्, तर बहुमत सामान्य मानिसकै छ ।
वैशाखमा सुरेशले झन्डै दस दिन पसल बन्द गरे । टोलमा निकै खुलदुली भयो । सुरेशले राम्रैसँग व्यवसाय गर्ने हुनाले उनको पसल बन्द भएपछि खुलदुली हुनु सामान्य नै थियो । कहाँ गएका थिए त उनी ?
जवाफ आयो, ‘खप्तड । हामी यहाँबाट खप्तड जान निस्कियौं । बुटवल, खानी डाँडा, साँफे हुँदै हामी खप्तड पुग्यौं । हामी राति पुगेका थियौं ११ बजे । भोलिपल्ट खप्तड हेर्दा हामी चकित भयौं । असाध्यै सुन्दर ठाउँ । मलाई त बयान गर्न पनि आउँदैन । तपाईंहरू भए कति लेख्नुहुन्थ्यो होला ? त्रिवेणी धाम, आश्रम र तालको दर्शन–अवलोकनपछि हामी दसौं दिनमा फर्कियौं खप्तडबाट । त्यहाँ दुई रात बिताएर ।’
सुरेश र उनका साथीहरू २०७३ को अन्त्यतिर रारा तालको भ्रमणमा गएका थिए । सुरेशले बताए, ‘नेपाली भएर जन्म लिएपछि त्यो ठाउँमा त एकपटक पुग्नैपर्ने रहेछ । सार्है रमणीय । त्यहाँ एउटा मात्र रिसोर्ट छ । खाने–बस्ने सुविधा नभए पनि दिक्क नलाग्ने । पाल टाँगेर बस्न एकदमै रमाइलो । ठाउँ त त्यस्तो होस् न ।’
‘हामी जाँदा तालसम्म गाडी गएन । हामी गोठिज्यूला भुलभुलेबाट हिंडेर गएका थियौं । फर्कंदा ताल्चबाट जुम्ला झर्यौं । दुई दिन जुम्लामा बिताएर फर्कियौं हामी,’ सुरेश बताउँछन् ।
सुरेशलाई घुमेर सुन्दर लागेका ठाउँहरूमा घले गाउँ पनि एउटा हो । त्यहाँ गरिने पर्यटकहरूको स्वागतले सुरेशलाई मुग्ध तुल्यायो । उनीहरू त्यहाँ पुग्दा दुई ठाउँमा स्वागत भयो । स्वागतमा सगुन पनि दिए । मालाबाहेक अरू सामानको भने पैसा तिर्नुपर्ने रहेछ ।
सुरेश र उनका साथीहरू कानुन व्यवसायी हरिहर खनाल, व्यापारी कुमार बुढाथोकी, जीव–जन्तु र तिनका उपभोग्य सामग्रीका व्यापारी वसन्त भण्डारी, कर्मचारीहरू नारायण खनाल, अच्युत बुढाथोकी र प्रशस्त बुढाथोकी तथा भर्खरै वडा सदस्यमा निर्वाचित विष्णु भट्टराईले नेपालका एक दर्जनजति धार्मिक तथा पर्यटनस्थलको भ्रमण गरिसकेका छन् । अहिलेसम्म उनीहरू गोसाइँकुण्ड, इच्छाकामना, कालिन्चोक भगवती, बराह क्षेत्र, हलेसी महादेव, पाथीभरा (ताप्लेजुङ) तथा मुक्तिनाथ पुगिसकेका छन् । नेपालका यी पर्यटनस्थलहरूको भ्रमण त्यतिसारो महँगो छैन । मन र हात फुकाएर खर्च गर्दा पनि दिनको ५ हजारभन्दा बढी खर्च हुँदैन । त्यति खर्च गरेर सुरेश र उनका साथीहरू जुन–जुन रहस्यलोकमा पुगेका छन्, त्यहाँबाट निकै गार्हो मानेर मात्र फर्किएका छन् । ‘नेपाल त त्यस्तो राम्रो पो छ त,’ सुरेश र उनका साथीहरू भन्छन् । अर्को पटक उनीहरू नाम्चे बजारको भ्रमणमा जाने विचार गर्दैछन्— शुभ यात्रा ।