साप्ताहिक संवाददाता
पछिल्लो साता नेपाली खेलकुद एसियाली युथ तथा जुनियर भारोत्तोलनका कारण चर्चामा रह्यो, अनि व्यस्त पनि । नेपाली खेलकुद इतिहासमै यति ठूलो प्रतियोगिता धेरै समयको अन्तरमा भएको थियो । केहीले नेपाली खेलकुदमा यति बृहत् प्रतियोगिता भएकै थिएन भन्ने दाबी पनि गरे । कम्तीमा नेपाली भारोत्तोलनको इतिहासमै यो जत्तिको ठूलो प्रतियोगिता नेपालमा भएको थिएन । यो प्रतियोगिताले अरू प्रतिस्पर्धाका लागिसमेत ढोका खोलेको बताइँदैछ ।
विश्व भारोत्तोलनमा एसिया नै प्रमुख शक्ति भएकाले पनि प्रतियोगिताको फरक महत्त्व स्थापित भएको हो । यो प्रतियोगितामा विश्वकै अब्बल दर्जाका खेलाडीहरूको सहभागिता थियो र त्यस क्रममा उत्तिकै माथिल्लो स्तरको खेल हेर्न पाइयो । प्रतियोगिताको महिला जुनियरतर्फ थाइल्यान्ड ६ स्वर्ण, ६ रजत तथा २ कांस्यसँगै पहिलो स्थानमा रह्यो भने चीनले ६ स्वर्ण, ३ रजत तथा ५ कांस्यसहित दोस्रो स्थान प्राप्त गर्यो । तेस्रो स्थानमा आएको उत्तर कोरियाले ५ स्वर्ण तथा एक रजत जितेको थियो ।
महिला युथतर्फ भने चीनले आधिपत्य नै कायम गर्यो । आफ्नो प्रभुत्व सिद्ध गर्ने क्रममा चीनले ११ स्वर्ण, ३ रजत तथा २ कांस्य जित्यो । दोस्रो स्थानमा रहेको उज्वेकिस्तानले ४ स्वर्ण, ३ रजत तथा ४ कांस्य जित्यो । तेस्रो स्थानको कजाकिस्तानको नाममा ३ स्वर्ण, १ रजत तथा १ कांस्य रह्यो ।
पुरुष जुनियरतर्फ दक्षिण कोरिया पहिलो स्थानमा आयो । उसले ६ स्वर्ण तथा ३ रजत जित्यो । उता शक्तिशाली इरानले दोस्रो स्थानमा चित्त बुझाउँदै ६ स्वर्ण, २ रजत तथा ५ कांस्य जित्यो । यसैगरी यो विधामा ४ स्वर्ण, ३ रजत तथा ४ कांस्यसहित भियतनाम तेस्रो स्थानमा रह्यो ।
पुरुष युथतर्फ भने उज्वेकिस्तान पहिलो स्थानमा आयो । उसले ६ स्वर्ण, ३ रजत तथा ६ कांस्य जित्यो । थाइल्यान्ड यो समूहमा ६ स्वर्ण, २ रजत तथा ४ कांस्यसहित दोस्रो स्थानमा रह्यो भने तेस्रो स्थानमा ६ स्वर्ण तथा ३ कांस्यसहित कजाकिस्तान देखा पर्यो । यो प्रतियोगिताका हरेक विधामा अपेक्षाअनुसार एसियाली भारोत्तोलनकै शक्ति राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गर्दै आ–आफ्नो क्षमता प्रमाणित गरे ।