साप्ताहिक संवाददाता
यसै साता नेयमार बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने तय भयो । उनका लागि पीएसजीले कीर्तिमान रकम तिरेको थियो र उक्त रकमप्रति विश्वास नगर्ने अहिले पनि धेरै छन् । धेरै फुटबल पण्डित के मान्छन् भने नेयमारका लागि पीएसजीले तिरेको २२ करोड २० लाख युरोको कीर्तिमान चाँडै तोडिने छैन तर दस महँगा स्थानान्तरणको सूची हेर्नुपर्छ, धनी क्लब राम्रा खेलाडीका लागि जति पनि तिर्न तयार हुन्छन् ।
१. नेयमार
बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन सन् २०१७, २२ करोड २० लाख युरो एक खेलाडीका लागि यति धेरै मूल्य ? यति रकमले एउटा राम्रो टिम नै किन्न सकिन्छ । ब्राजिलीन नेयमार आफैंलाई पनि आफ्नो नाममा जोडिएको यति ठूलो मूल्यप्रति न्याय गर्न गाह्रो हुनेछ । यो पछिल्लो विश्व कीर्तिमान रकमभन्दा दोब्बर छ तर नेयमार भर्खरै २५ वर्ष पुगे, उनका सामु आफूलाई अब्बल सिद्ध गर्न अझै धेरै समय बाँकी छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) गएपछि व्यक्तिगत रूपमा नेयमारलाई बार्सिलोनामा लियोनल मेसीको प्रभावबाट मुक्त हुने अवसर प्राप्त हुनेछ । नेयमार किनेर पीएसजीले विश्वकै सबैभन्दा उत्कृष्ट क्लब हुने
आफ्नो मनसाय पनि प्रस्ट पारेको छ । पीएसजीका कतारी मालिकको लगानी साँच्चै सही छ त ? त्यो त समयले नै देखाउने छ ।
२. पउल पोग्बा
युभेन्ट्सबाट म्यानचेस्टर युनाइटेड सन् २०१६, १० करोड ५ लाख युरो फ्रान्सका पउल पोग्बालाई विश्व फुटबलकै सबैभन्दा राम्रा सेन्ट्रल मिडफिल्डर मानिन्छ । यिनै पोग्बाले चार वर्ष अघि बिना कुनै मूल्य म्यानचेस्टर छाडेका थिए । यिनै खेलाडी कीर्तिमानी रकममा फेरि म्यानचेस्टर फर्किए । सुरुमा म्यानचेस्टरमा बिताएका दिन उनका लागि सुखद् रहेनन् । म्यानचेस्टर छाडेयता उनी निकै राम्रा खेलाडी सावित भए र युभेन्ट्सलाई एकपछि अर्को सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेले । यस्तोमा म्यानचेस्टरसामु अरू कुनै विकल्प थिएन, त्यसैले यसले फेरि पोग्बालाई नै किन्यो । म्यानचेस्टरले आगामी सिजन फेरि पुरानै सफलता दोहोर्याउने महत्त्वाकांक्षा देखाएको छ, त्यसैले पोग्बाले उपयुक्त भूमिका खेल्नुपर्ने हुन्छ ।
४. क्रिस्टियानो रोनाल्डो
म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड सन् २००९, ९ करोड ४० लाख युरो क्रिस्टियानो रोनाल्डो जत्तिको खेलाडीका लागि ९ करोड युरो भन्दा केही बढी रकम निकै सस्तो हो भन्नेहरू पनि छन् । म्यानचेस्टरका तत्कालीन प्रशिक्षक एलेक्स फर्गुसनको नेतृत्वमा उनले क्लबका लागि टिममा रहुन्जेल निकै राम्रो खेले । स्टार खेलाडीका रूपमा उनले आफ्नो व्यक्तित्व तयार पारेको म्यानचेस्टरमै हो । उनको त्यही भूमिकाबाट लोभिएर रियलले किन्ने तत्परता देखाएको हो । रियलको यो निर्णय आखिरमा सही सावित भयो र उनले यो स्पेनी क्लबलाई एकपछि अर्को सफलता पनि दिलाए । त्यति मात्र होइन, रियलका लागि उत्कृष्ट प्रदर्शन गरेकै कारण उनले बेलन डेअर अवार्ड पनि लगातार जस्तै जिते ।
३.गेराथ बेल
टोटनहमबाट रियल म्याड्रिड सन् २०१३, १० करोड युरो गेराथ बेलको भूमिका खासमा विन्गरका रूपमा देखिन्छ । रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डो पनि यस्तै भूमिकामा छन् । त्यसैले प्राय: यी दुई खेलाडीबीच तुलना हुन्छ तर यसलाई बेलको पक्षमा राम्रो भने मानिँदैन, किनभने उनी उत्तिकै राम्रा खेलाडी हुन् । त्यसैले त रियलले यी वेल्स खेलाडीका लागि यति धेरै रकम तिरेको थियो । स्पेन जाँदा उनी भर्खर २४ वर्षका थिए । उनले केही सिजन टोटनहममा प्रमुख भूमिका निर्वाह गरे । अहिले यस्तै भूमिका रियलका लागि पनि निर्वाह गरिरहेका छन् । रोनाल्डो नभएको स्थितिमा रियलका लागि केन्द्रीय भूमिकामा खेल्ने खेलाडी पनि बेल नै हुन् ।
५. गोन्जालो हिगुएन
नेपोलीबाट युभेन्ट्स सन् २०१६, ९ करोड युरो इटालीको सिरी ‘ए’ मा पछिल्लो समय युभेन्ट्स तथा नेपोलीबीच चर्को प्रतिस्पर्धा चल्ने गरेको छ र यी दुई क्लब एक–अर्काका प्रतिस्पर्धी टिमजस्तै भएका छन् तर यस्तै स्थितिमा पनि युभेन्ट्सले चर्को मूल्य तिरेर नेपोलीकै हिगुएनलाई किन्यो । नेपोलीलाई फेरि इटालीको उत्कृष्ट क्लबमध्ये एक बनाउने श्रेय अर्जेन्टिनाका यी खेलाडीलाई जान्छ । ठूलो विवादबीच उनले नेपोली छाडे र प्रतिद्वन्द्वी क्लब रोजे । युभेन्ट्स आएयता पनि हिगुएनको खेल उत्तिकै अब्बल दर्जाको छ । इटालीमा युभेन्ट्सलाई लगातार सफलता दिलाउन हिगुएनको ठूलो भूमिका छ भन्ने मानिन्छ ।
६. रोमेलु लुकाकु
एभर्टनबाट म्यानचेस्टर युनाइटेड सन् २०१७, ८ करोड ५० लाख युरो पछिल्लो समय म्यानचेस्टर युनाइटेड निकै महत्त्वकांक्षी क्लब भएको छ । त्यसैले उसले खुलेर खर्च गरिरहेको छ । यसै क्रममा म्यानचेस्टर बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई किन्न तयार भयो । एभर्टन आउनुअघि उनी चेल्सीमा थिए । चेल्सीसँग सम्बन्ध राम्रो नभएपछि रोमेलु एभर्टन लागे र त्यहाँ राम्रो गरे । यसपटक चेल्सीले फेरि उनमा रूचि देखाएको थियो, तर उनी त्यहाँ जान तयार भएनन्, बरु रोजे, म्यानचेस्टरलाई । यसका पछाडि पउल पोग्बाको सबैभन्दा ठूलो भूमिका छ । सुरुआती दिनमा लुकाकुलाई नयाँ डिडिएर ड्रोग्बा भनिन्थ्यो । लुकाकुको व्यक्तित्वको एउटा ठूलो विशेषता हो, उनको बलियो शैक्षिक आधार ।
७.लुइस स्वारेज
लिभरपुलबाट बार्सिलोना सन् २०१४, ८ करोड २३ लाख युरो उरुग्वेका लुइस स्वारेज जत्तिको विवादास्पद खेलाडी कमै छन् । उनी ती तमाम विवादलाई छाँयामा पार्दै उत्तिकै उत्कृष्ट फुटबल खेल्छन् । त्यसैले त उनको माग उत्तिकै छ । स्वारेजले लिभरपुलमा जति समय बिताए, राम्रोसँग बिताए र मर्सिसाइड क्लबलाई फेरि उपाधिको हकदार बनाए । बार्सिलोना गए पनि लियोनल मेसी, नेयमार र उनको सफल जोडी बन्यो । त्यसलाई छोटकरीमा एमएसएन पनि भनिन्छ र यी तीन खेलाडीको यत्तिको सफल जोडी विश्व फुटबलमा विरलै देख्न पाइन्छ । बार्सिलोनाका उत्कृष्ट क्लब रहने अभियानमा प्रमुख खेलाडीका रूपमा अहिले पनि स्वारेजको भूमिका उस्तै छ ।
८. जेम्स रोड्रिग्वेज
मोनाकोबाट रियल म्याड्रिड सन् २०१४, ७ करोड ९८ लाख युरो सन् २०१४ को विश्वकपका स्टार खेलाडी हुन्, कोलम्बियाली जेम्स रोड्रिग्वेज । उनले उक्त विश्वकपमा छ गोल गरे र जिते, गोल्डेन बुट । उनको यही प्रदर्शनका कारण रियल म्याड्रिड यी खेलाडीप्रति लोभियो र उनलाई प्रतिष्ठित १० नम्बरको जर्सी प्रदान गर्यो । तर रियलमा उनी राम्रो खेल्न संघर्षरत रहे । विशेषत: रियलका प्रशिक्षकमा जिनेदिन जिदानको आगमनका कारण पनि उनी टिममा नियमित स्थान पाउन संघर्षरत रहे । त्यही कारणले उनी अन्तत: रियल छाड्ने मनसायमा पुगे । हालै मात्र उनलाई बायर्न म्युनिखले दुई वर्षका लागि ऋणमा भित्र्याएको छ ।
९. जिनेदिन जिदान
युभेन्ट्सबाट रियल म्याड्रिड सन् २००१, ७ करोड ७५ लाख युरो विश्व फुटबलले पाएको अब्बल दर्जाका खेलाडीमा पर्छन्, जिनेदिन जिदान । फ्रान्सका यी खेलाडीलाई खेल निर्माताका रूपमा प्रस्तुत गरिन्छ । जिदानले रियलबाट खेल्दा त्यति बेला उनको टिममा एकसेएक स्टार खेलाडी थिए र टिमले पनि लगातार सफलता चुमेको थियो । जिदान रियल गएपछि नै खेलाडी स्थान्तरणमा कीर्तिमान बन्न सुरु भएको हो । अहिले यिनै खेलाडी रियलका प्रशिक्षक भएका छन् । उनी जति राम्रा खेलाडी हुन्, प्रशिक्षक पनि उत्तिकै राम्रो हुने संकेत प्राप्त भैरहेको छ, किनभने युरोपेली फुटबलमा रियलले लगातार सफलता चुमिरहेको छ ।
१०. एन्जेल डी मारिया
रियल म्याड्रिडबाट म्यानचेस्टर युनाइटेड सन् २०१४, ७ करोड ५६ लाख युरो कुनै खेलाडीका लागि धेरै महँगो रकम तिरेर पनि उ असफल भएको छ भने त्यसको सबैभन्दा राम्रो उदाहरण अर्जेन्टिनी खेलाडी एन्जेल डी मारिया हुन् । म्यानचेस्टरले डी मारियालाई किन्दा प्रशिक्षक थिए, लुइस भान गाल । उनलाई म्यानचेस्टरको प्रतिष्ठित ७ नम्बरको जर्सी प्रदान गरिएको थियो तर डी मारियाले आफ्नो प्रतिष्ठा अनुसार खेल्न सकेनन् । उनले म्यानचेस्टरका लागि कुनै चमत्कारी खेल प्रर्दर्शन गरेनन् । त्यसै कारण उनी अर्को सिजननै पीएसजी लागे । मारियालाई बेच्दा म्यानचेस्टरलाई ठूलै घाटा लागेको थियो ।