हालै नेपाल सरकारले १० जना युवालाई 'राष्ट्रिय युवा प्रतिभा सम्मान २०७४' बाट सम्मान गर्यो । पहिलो पटक लेखकहरूमध्येबाट रोहित भण्डारी सम्मानित भए । टेलिभिजन पत्रकारसमेत रहेका रोहितका दुई पुस्तक नेपालमै सकिन्छ र सम्भव छ प्रकाशित छन् । यसैको मूल्यांकन गर्दै गत साउन २८ गते राष्ट्रपतिको हातबाट १ लाख रुपैयाँसहित सम्मानित भएका रोहितसँग गरिएको कुराकानी
:
पहिलो पटक यति ठूलो सम्मान पाउँदा कस्तो महसुस भयो ?
असाध्यै खुसी भएँ । यो सम्मान जसलाई मैले मप्रतिको सम्मानका रूपमा मात्र नलिई पुस्तकमा समावेश सबै पात्रप्रतिको सम्मानका रूपमा लिएको छु । सम्मानित भैरहँदा सम्भव छ अभियान का व्यवस्थापक डिल्ली तुलाधरसहित ती पात्रहरूलाई सम्झिएँ जसका संघर्ष र सफलताका कथा पुस्तकमा समेटिएका छन् । प्रेरणादायी व्यक्तिहरूका विषयमा लेखिएका पुस्तकका कारण सम्मानित हुन पाउँदा मलाई थप प्रेरणा मिलेको छ, हौसला मिलेको छ, लागेको छ, यस्ता पात्रहरू अझै खोज्नुपर्छ र उहाँहरूका विषयमा लेख्नुपर्छ भन्ने मेरो विश्वास अझ बलियो भएको छ ।
यति ठूलो राशिसहितको सम्मान पाउँछु भन्ने लागेको थियो ?
थिएन । किनकि कुनै सम्मान र पुरस्कारको आशले मैले पुस्तक लेखेकै थिइनँ । म अरुको सम्मान गर्न चाहन्थेँ । कर्मवीरहरूको सम्मान । समाजमा सानातिना भनिने काम गरेर उदाहरणीय बनेका व्यक्तिहरूलाई पुस्तकमा समेट्नु, उहाँँहरूका विषयमा लेख्नु उहा“हरूप्रतिको मेरो सम्मानभाव थियो । जब मैले राष्ट्रपतिका हातबाट यस वर्षको राष्ट्रिय युवा प्रतिभा सम्मान पाएँ त्यसपछि लाग्यो— अरुको सम्मान गर्न जानियो भने आफ्नो सम्मान स्वतः हुने रहेछ ।
सामान्य मानिसका सामान्य कथाहरू टिपेर तपाइँले दुईवटा पुस्तक लेख्नुभएको छ । कसरी यस्तो सोच आयो ?
वैदेशिक रोजगारीमा गएकाहरूको डरलाग्दो तथ्यांकले मेरो मन असाध्यै घोच्यो । मलाई लाग्यो— नेपालमा पनि केही हुन्छ, नेपालमा पनि केही गर्न सकिन्छ, नेपालमा पनि सम्भावना छ भन्ने लागेको भए सायद त्यति धेरै युवा बिदेसिने थिएनन् । हामी सञ्चारकर्मीका तर्फबाट आशा र विश्वास जगाउने खालका समाचार र विचार जुन मात्रामा प्रस्तुत हुनुपर्ने थियो त्यो हुन सकेको भए पक्कै वैदेशिक रोजगारीको यति डरलाग्दो तथ्यांक देख्नुपर्ने थिएन । म एकजना सञ्चारकर्मी भएका कारण दोष मेरो पनि देखेँ । त्यसैले सोचेँ— म अब निराशाका होइन आशा र विश्वासका कथा लेख्छु । नेपालमै बसेर आर्थिक उन्नति र प्रगति गरेका व्यक्तिहरूका विषयमा लेख्छु । जसले गर्दा जो–कोहीलाई प्रेरणा देओस— उन्नति र प्रगतिका लागि विदेश नै जानुपर्छ भन्ने छैन ।
पुस्तक प्रकाशन भएपछिका केही सम्झन लायक क्षणहरू छन् ?
त्यस्ता धेरै क्षण छन् । पाठक प्रतिक्रिया मैले सोचे भन्दा धेरै आयो । थुप्रै फोन आए, थुप्रै म्यासेज आए, थुप्रै इमेल आए अनि कतिपय पाठकहरू टाढा–टाढादेखि प्रत्यक्ष भेट्नकै लागि आउनुभयो । अर्को कुरा, मैले जो–जो पात्रहरूका विषयमा लेखेँ उहाँहरू सञ्चारमाध्यममा राम्रैसँग छाउनुभयो ।
तपाईंका दुईवटै पुस्तक आशा जगाउने खालका छन् । पुस्तक पढेपछि कुनै व्यक्तिमा यस्तै प्रभाव परेर आफ्नो व्यवसाय सुरु गरेको उदाहरण छ ?
विदेश जाने सोच त्यागेँ अब यहीँ केही गर्दैछु भन्नेदेखि लिएर तपाईंको पुस्तक पढेर नेपाल फर्कदैछु भन्ने सम्मका म्यासेजहरू आएका छन् ।
बजारमा बिकाउ किताब लेख्नेहरूको जमात छ । प्रकाशकहरू पनि त्यस्तै लेखकको खोजीमा देखिन्छन् । तपाईंको ध्यान त्यतातिर गएन ?
म जुन धारको पुस्तक लेखनमा लागेँ त्योभन्दा फरक धार मेरो प्राथमिकतामा परेन । यही धार जसलाई पाठकले मन पराउनुभएको छ । जहाँसम्म बिकाउ किताबको कुरा छ यो पनि बिकेकै किताबमा पर्छ ।
पुस्तक केका लागि लेख्नुहुन्छ ? व्यापार, सन्तुष्टि वा अन्य कारण ?
व्यापार र सन्तुष्टिभन्दा पनि नेपालमै केही गरौं, गर्नुपर्छ र गर्न सकिन्छ भन्ने सन्देश प्रवाहका लागि लेख्छु । उन्नति र प्रगतिका लागि यो देशभन्दा त्यो देश राम्रो भन्नेहरू प्रशस्तै छन् तर, म त्यो देशभन्दा यो देश राम्रो भन्ने देखाउन चाहन्छु ।
कुन समयमा लेख्न रुचाउनुहुन्छ ?
समय ठ्याक्कै यही भन्ने छैन । फुर्सद मिलेपछि लेख्न बस्छु ।
अरू लेखकका पुस्तक कत्तिको पढ्नुहुन्छ ?
धेरै पढ्ने पनि होइन र पढ्दै नपढ्ने पनि होइन, ठीकै पढ्छु, तर धेरैचाहिँ म समाज पढ्न रुचाउँछु । समाजका त्यस्ता पात्रहरू जसका विषयमा लेखिएका छैनन्, जसका विषयमा बोलिएका छैनन्, ती पात्रहरू मेरो रोजाइमा पर्छन् । जोसँगको प्रत्यक्ष भेट र संवाद साँच्चै प्रेरणादायी लाग्छन् ।
आउने दिनमा कस्तो किताब लेख्ने सोच छ ?
तत्काल केही सोच बनाएको छैन तर, लेखनको धार परिवर्तन गर्दिनँ । प्रेरणादायी व्यक्ति र सन्दर्भहरू नै मेरा लेखनका विषयवस्तु हुन्छन् ।
प्रेरणादायी पुस्तक लेखनलाई अभियानकै रूपमा लैजाने सोच हो तपाईंको ?
हो, सम्भव छ र नेपालमै सकिन्छ । अब सामान्य पुस्तक मात्र होइन तपाईंले भनेजस्तै यो एउटा अभियान हो ।