आश्विन १४, २०७४
अलिकति सम्झनामा आयो
अघि–अघि पर्गलो
पछि–पछि
भाकलका राँगा–बोकाहरू
र, एक थान ट्याम्को बजाइरहेका दमाई दाइ
अनि केटा–केटीको हुल ।
हाम्रो घर छेउको कालिका मन्दिर
राँगा काट्ने युवाहरूको तम्सातम्सी
र, पालैपालो काटिने
बलिसँगको उमंग
रातभर रन्किने देउडाका
कर्णप्रिय स्वरहरू ।
यतिखेर मेरो गाउँमा
के सुनिँदै होलान् ?
वा इतिहास भए,
पुदाल बाजेका मन्त्रोचारण
मेहरसिंह आबाको बाजाको
उही आदिम रन्को
राँगा काट्न लड्दै भिड्ने
मेरो साथी ललितको स्वर
र, हाम्रा घरमा पाक्दै गरेका
बाबरको मिठो बासना ।
(११ अक्टोबर २०१६, नाइजेरिया)