साप्ताहिक संवाददाता
झण्डै १ वर्ष अघि तरकालिवालीका नामबाट एकाएक चर्चामा आएकी एक युवती अब अभिनेत्रीका रुपमा पर्दामा देखिने भएकी छिन् । तरकारीवालीका नामबाट चिनिएकी कुशुम श्रेष्ठले चलचित्र ‘लम्फू’ मार्फत चलचित्र क्षेत्रमा डेब्यु गर्ने भएकी हुन् । गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको उक्त चलचित्रमा अभिनय गरेबापत उनले पाएको पारिश्रमिक अनाथ बालबालिकाको लागी खर्च गरेकी छिन् ।
रिलिज डेट फिक्स नभएको उक्त चलचित्रमा कुशुमले कस्तो क्यारेक्टरको भूमीका निर्वाह गरेकी छिन् भन्ने कुरा भने खुलाइएको छैन् । यो एक वर्षमा कुशुमलाई थुप्रै खालका अफर आए पनि चलचित्रका सबै अफर तयागेको बताईएको छ । लम्फू यूनिटले भने उनलाई मास्टर डिग्री सम्म निशुस्ल्क शिक्षाको लागी छात्रावृत्ती प्रदान गरेको र उक्त टिमको सामाजिक भावनाको कदर गर्दै सो चलचित्रमा अभिनय गरेको कुशुम बताउँछिन् ।
चितवनको रत्ननगरमा शिक्षण पेशामा रहेका कुशुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यको सोचले आफु निकै हर्षित भएको बताए । ‘कुशुमले गरेको काम ‘पावर’ र ’प्रोपर्टी’को लागि नभएर ‘प्रेस्टिज’को लागि हो । समाजमा बसेपछि सामाजिक न्यायको क्षेत्रमा पनि हामीले हेर्नुपर्छ भन्ने ध्येयले यो गरिएको हो ।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।
गत बर्ष तरकारी बोकेर बजारतर्फ झर्दै गरेकी कुशुमका दुई फोटो रुपचन्द्र महर्जनले खिचेका थिए । गोरखाबाट चितवनको फिस्लिङ्तर्फ आउँदै गर्दा त्रिशुली नदिको झोलुंगे पुलमा तस्वीर कैद भएका थिए । उक्त फोटोहरु पहिले भारतमा भाईरल बनेका थिए । त्यसपछि नेपाल र भारतका सञ्चारमाध्यमहरुमा कुशुम केहि समय चर्चाको बिषय बनेकी थिइन् ।