कार्तिक १३, २०७४
बलिउडको सफल चलचित्र जुडवा–२ की अभिनेत्री तापसी पन्नू उक्त चलचित्रको सफलतापछि बिदा मनाउन डेनमार्क पुगिन् । त्यहाँबाट भारत फर्कनेबित्तिकै उनी एउटा नयाँ चलचित्रमा आबद्ध भएकी छिन् । अनुभव सिन्हाद्वारा निर्देशित चलचित्र मुल्कमा तापसीले वकिलको भूमिका निर्वाह गर्नेछिन् । लखनउमा छायांकन गरिएको यो चलचित्रमा ऋषि कपुर पनि महत्त्वपूर्ण भूमिकामा छन् ।
थ्रिलर शैलीको यो चलचित्रका लागि तापसीले आफ्ना क्रिमिनल लयर साथीहरूको सहयोगमा आफ्नो भूमिकाको तयारी गरिरहेकी छिन् । आफ्ना थुप्रै साथी वकिल भएकाले चलचित्रमा आफूलाई वकिल बन्न खासै असहज नहुने तापसीको भनाइ छ । ‘मैले स्क्रिप्टसहित आफ्ना साथीहरूलाई भेटें, तापसी भन्छिन्– ‘उनीहरूको सल्लाहअनुरुप चलचित्रमा म शसक्त वकिलका रूपमा देखिनेछु भन्ने कुरामा ढुक्क छु ।’