साप्ताहिक संवाददाता
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको स्वीकृतिमा तयार गरिएको “स्रष्टा/कलाकार परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७४” अनुरुप सङ्गीत तथा नाट्य विधासाग सम्वन्धित श्रष्टा तथा कलाकारहरुलाई परिचय पत्र प्रदान गर्ने गर्ने भएको छ ।
प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले पत्रकार भेटघाटमा सङ्गीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै यी विधासँग सम्बन्धित श्रष्टा, कलाकारहरुलाई सम्मान गर्ने अभिप्रायले स्रष्टा/कलाकार परिचयपत्र वितरण गर्न लागिएको जानकारी दिए । श्रष्टा तथा कलाकार परिचयपत्रबारे जानकारी दिँदै उपकुलपति शम्भूजीत बासकोटाले स्रष्टा/कलाकार परिचयपत्र वितरण गर्ने सम्बन्धी कार्यविधि अनूरुप गीतकार, सङ्गीतकार, लोक भाका संकलक, गायक/गायिका, सङ्गीत संयोजक, वाद्यवादक, नृत्यकार, नाटककार, निर्देशक र रङ्गकर्मीहरुलाई आफू संलग्न रहेको कुनै एक विधामा प्रतिष्ठित श्रेणी (Renowned Class) वा बरिष्ठ श्रेणी (Senior Class) वा साधारण श्रेणी (General Class) मा परिचयपत्र वितरण गरिने वताउनु भयो । श्रष्टा तथा कलाकारहरुको योगदानको कदर हुने, उनीहरुको पहिचान गराउने र प्रज्ञा प्रतिष्ठानमा समेत कलाकारहरुको अभिलेख राख्न परिचयपत्रले सहयोग पुग्ने पनि बताएका छन् ।
श्रष्टा/कलाकारहरुले परिचयपत्र प्राप्त गर्न दरखास्तका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत विवरण, सङ्गीत तथा नाट्य विधाको कुनै एक क्षेत्रमा गरेको योगदानका लागि प्राप्त मान सम्मान ,पुरस्कार, आदिको प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो तीन (३) प्रति, आफू संम्वद्ध संस्थाको शिफारिस पत्र, संम्वन्धित विधामा प्रवेश गरेको मिति खुल्ने प्रमाणपत्र, आफना प्रकाशित कृतिको नाम, आफूले लिन चाहेको विधासाग सम्वन्धित कागजातहरु पेश गर्नु पर्नेछ ।
पत्रकार भेटकाट कार्यक्रममा वरिष्ठ गीतकार रत्नशम्सेर थापाले श्रष्टा/कलाकारलाई परिचयपत्र वितरण गरिनु राम्रो विषय भएको र यसले कलाकारहरुलाई सम्मानित गरेको महशुस हुने बताए । कार्यक्रममा सदस्य सचिव गणेश रसिक, प्राज्ञ परिषद् सदस्यहरु माधव प्रधान, उदय श्रेष्ठ प्राज्ञ राम धामी लगायत वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ सङ्गीतकार नारायण वली, वरिष्ठ सङ्गीतकार लक्ष्मण शेष लगायत गीतसङ्गीतसाग विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्रज्ञा प्रतिष्ठानले निकट भविष्यमा सो सम्बन्धी सार्वजनिक रुपमा सूचना जारी गरी दरखास्त आह्वान गरिनेछ । प्रज्ञा प्रतिष्ठानले प्रतिष्ठित श्रेणीको परिचयपत्र बिशेष समारोहमा प्रदान गर्नेछ र अन्यको हकमा उपयुक्त समयमा प्रदान गरिनेछ । श्रष्टा तथा कलाकार परिचयपत्र वितरणका लागि विभिन्न विधाका सिफारिस उपसमितिहरु समेत गठन भइसकेका छन् । सङ्गीत, नाटक, गीत, वादन, गायन, नृत्य, अभिनय, रङ्गकर्मका माध्यमबाट राष्ट्रमा पुर्याएको योगदानको कदर स्वरुप र श्रष्टा तथा कलाकारहरुको अभिलेख राख्ने उद्देश्यले परिचयपत्र वितरण गर्न लागिएको हो ।