साप्ताहिक संवाददाता
प्रसंग केही साताअघिको हो । कोहलपुरको एउटा गाउँमा चलचित्र कोहलपुर एक्सप्रेसको रात्रिकालिन छायांकन चलिरहेको थियो । निर्देशक विशाल भण्डारीले अभिनेत्रीद्वय ऋचा शर्मा, केकी अधिकारी, अभिनेता बिनोद न्यौपाने, कलाकार सुजन कार्की तथा बालकलाकार कुशाग्र भट्टराईलाई एउटै फ्रेममा अभिनय गराइरहेका थिए ।
चलचित्रको महत्वपूर्ण मानिएको उक्त दृश्यको एउटा सटमा ऋचा र केकीलाई मात्र छायांकन गर्नुपर्ने भयो । केकीको भन्दा ऋचाको संवाद महत्वपूर्ण तथा प्रभावकारी भएकाले चलचित्रकी निर्मात्रीसमेत रहेकी केकीले निर्देशक भण्डारीको कानमा खुसुक्क केही भनिन् । निर्देशकले छायाँकार अर्जुन तिवारीलाई केकी मात्र देखिने गरी ‘सिंगल सट’ लिन निर्देशन दिए ।
त्यसपछि यो कुरालाई नजिकबाट नियालिरहेकी ऋचाको अनुहारमा अचानक आश्चर्यको भाव देखियो । उनी छायांकनस्थलबाट जुरुक्क उठेर मेकअप रुमतर्फ लागिन् । ऋचाले चित्त दुखाएको देखेपछि निर्देशक पनि उनको पछि लागे । केकीजस्तो अनुभवी अभिनेत्रीबाट मैले त्यस्तो कुराको आसै राखेकी थिइनँ । ऋचाले चित्त दुखाउँदै भनिन्– मलाई असाध्यै नरमाइलो लागेको छ ।
छायांकन नै रोकिने स्थिति आएपछि निर्देशकले दुवै अभिनेत्रीलाई छुट्टा–छुट्टै सम्झाए तर दुवै एक–अर्कासँग नबोल्ने अवस्थासम्म पुगे । अन्तत: निर्देशकले दुवैलाई फकाएर छायांकन त पूरा गरे, तर ऋचाको अनुहारमा हाँसो फर्किएन ।