साप्ताहिक संवाददाता
गरिमा स्मृति प्रतिष्ठानको तर्फबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत आठजना बिरामीलाई सोमबार आर्थिक सहायता प्रदान गरिएको छ । विपन्न वर्गका क्यान्सरपीडित विरामीहरुलाई रगत प्रदान गर्दा आवश्यक पर्ने शुल्कवापतको रकम प्रतिष्ठानले सहयोग गरेको हो ।
वार्षिक दुईसय जना विरामीलाई सहयोग गर्ने लक्ष्यका साथ सेवाको शुभारम्भ गरिएको प्रतिष्ठानका संरक्षक गङ्गाराम काडेलले जानकारी दिए । अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य र संरक्षक काडेलले संयुक्त रुपमा सो सहयोग हस्तान्तरण गरेका हुन् । आफ्नी छोरी गरिमा कँडेलको क्यान्सरकै कारण तीन वर्षअघि निधन भएपछि कँडेल र उनकी श्रीमती चन्द्रकला निरौलाले प्रतिष्ठान स्थापना गरेका थिए ।
क्यान्सर लागेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले २० लाख रुपियाँमा अक्षयकोष स्थापना गरिएको कँडेलले जानकारी दिए । अक्षयकोषबाट प्राप्त हुने ब्याज र थप सहयोग जुटाएर परोपकारी काममा सहयोग गरिएको भतिजा एवं चितवन समाज जापानका अध्यक्ष सरोज कँडेलले बताए । गरिमाको १८ वर्षको उमेरमा आयरल्याण्डमा निधन भएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. आचार्य, एनआरएनका सह कोषाध्यक्ष सोम सापकोटा, चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मुक्ति अधिकारीलगायतले मन्तव्य राखेका थिए ।