चलचित्र ‘फनफनी’मा अभिनय गर्न १७ लाख रुपैयाँ लिनुभएको हो ?
हो, एड्भान्स पनि लिइसकेँ । मैले १७ लाख रुपैयाँ मागे, उहाँहरूले दिनुभयो । अझ १७ लाख ५० हजार रुपैयाँ हुन्छ । मेरो हातमा १५ लाख रुपैयाँ पर्छ, बाँकी मैले ट्याक्स तिर्ने हो ।
धेरै लिएजस्तो लाग्दैन ?
लाग्दैन, आउने चलचित्रहरूमा अझ बढी डिमान्ड गर्छु ।
त्यसो हो भने जोसँग ल्याकत छ, उसले मात्र विपिनलाई काम गराउन पाउने भयो हैन ?
त्यसरी पनि नबुझौं । म अहिले १२ वटा स्क्रिप्ट पढिरहेको छु । ती सबैमा मलाई अफर गरिएको छ । सम्भवत: तीमध्ये एउटामा मात्र काम गर्छु । लिन सकेर मात्र हुँदैन । हरेक चलचित्रमा फरक रूपमा प्रस्तुत हुने चाहनाका कारण पहिले गरिसकेको भूमिकामा रिपिट हुन सक्दिनँ । चरित्र चित्त बुझ्यो भने मेरो पहिलो ध्यान पात्रको हाउभाउमै रहन्छ, अनि मात्र पारिश्रमिकको कुरा आउँछ ।
भनेपछि आइन्दा जो–कसैले पनि विपिनलाई आफ्नो चलचित्र काम गराउन २० लाखभन्दा बढी लिएर आउनुपर्यो ?
म भूमिका पनि हेर्छु र सँगसँगै टिम पनि । सम्बन्धको कुरा बेग्लै छ । यदि मेरो भूमिका मैले चाहेजस्तो छ, टिम पनि राम्रो छ भने पारिश्रमिक घटाउँछु पनि । मेरो पारिश्रमिक कुनै एमआरपी रेटजस्तो होइन । कुनै चलचित्रमा १० लाख रुपैयाँभन्दा कममा पनि काम गर्न सक्छु । मैले मेरो गोरुको बाह्रै टक्का भनेको पनि छैन । म कलाकार हुँ, मलाई फरक खालको भूमिका चाहिरहन्छ ।
सेलिब्रेटीहरू आफूलाई सबैले सहजै चिनून्, अटोग्राफ लिऊन्, तस्बिर खिचाउन् भन्ने चाहन्छन् । तपाईं भने नचिनिने गरी हिंड्नु हुन्छ, किन ?
दर्शकले मलाई भन्दा मेरो भूमिका र अभिनय हेरून् भन्ने चाहना हो । चिनेर बोल्न आउनुभयो भने बोलिदिन्छु ।
आउने चलचित्रहरूमध्ये कुनबाट बढी आशा छ ?
अब लालपुर्जा प्रदर्शन हुँदैछ । नाका र हरि पनि लाइनमा छन् । ती सबै चलचित्रमा म फरक ढंगमा प्रस्तुत भएको छु । त्यसैले सबैबाट आशा छ ।