साप्ताहिक संवाददाता
यतिबेला के मा व्यस्त हुनुहुन्छ ?
म यतिबेला सांगीतिक यात्राका क्रममा पूर्वी नेपाल हुँदै भारततर्फ आएकी छु । मंगलबार कालिङ्पोङमा कार्यक्रम थियो । त्यसपछि सिलिगुडी, सिक्किम हुँदै आज शुक्रबार दार्जिलिङमा गीत गाउने कार्यक्रम छ ।
रेडियो कान्तिपुरको पहिलो एवार्डमा मनोनीत हुँदा कस्तो अनुभव गर्नुभयो ?
असाध्यै खुसी लाग्यो । रेडियो कान्तिपुरले पहिलो पटक आयोजना गर्न लागेको नेसनल म्युजिक एवार्डका विभिन्न विधामा मनोनीत हुनुलाई आफैंमा ठूलो उपलब्धिका रूपमा लिएकी छु ।
कतिवटा विधामा मनोनीत हुनुहुन्छ ?
म तीनवटा विधामा मनोनीत छु । उत्कृष्ट प्ले ब्याक सिंगर महिलाको विधामा चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतबाट मनोनीत छु भने यही गीतबाट राजनराज शिवाकोटीसंगै पब्लिक च्वाइस एवार्डमा पनि मनोनित छु । उत्कृष्ट आधुनिक गायन महिलाको विधामा समेत मनोनीत छु ।
एवार्ड जित्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
त्यसो त मैले मनोनयनमा पर्नुलाई नै आफ्नो विजयका रूपमा लिएकी छु । यद्यपि यो एउटा प्रतियोगिता हो । यसमा निर्णायकको भूमिका महत्वपूर्ण हुन्छ । आशा छ कम्तीमा एउटा एवार्ड अवश्य जित्नेछु ।
तीनमध्ये कुन विधा सबैभन्दा रोमाञ्चक होला ?
तीनवटै विधा उत्तिकै रोमाञ्चक छन् । यीमध्ये उत्कृष्ट आधुनिक गायन महिलाको विधा सबैभन्दा रोमाञ्चक छ । किनभने उक्त विधामा मसहित बानिका प्रधान, मिलन अमात्य, संगीता राणा प्रधान, अञ्जु पन्तजस्ता मुर्धन्य गायिकाहरू पनि मनोनीत हुनुहुन्छ ।