साप्ताहिक संवाददाता
धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीसँग पाँच प्रश्न :
प्रतियोगिताको विशेषता ?
यसपटक पहिलेभन्दा ठूलो स्तरको प्रतियोगिता हुनेछ । प्रतियोगितालाई पूर्णत: ठूलो स्तरमा लाने हाम्रो प्रयास हुनेछ । प्रतियोगितामा सुरुमा लिग हुनेछ, त्यसपछि प्ले अफ हुनेछ र अन्त्यमा फाइनल । ड्रिम फाल्पा निर्माणका लागि यो प्रतियोगिता दबाबका रूपमा रहनेछ । विदेशी अम्पायर पनि प्रयोगमा आउनेछन् र उनीहरू आईसीसी प्यानलका हुनेछन् ।
प्राइजमनी बढाउनुपर्ने कारण ?
यसपटक विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने कुल पुरस्कार राशि नै ५० लाख रुपैयाँछ । हामीले कसैसँग प्रतिस्पर्धा गर्न पुरस्कार राशि बढाएका होइनौं । यो हाम्रो क्षमताअनुसार नै वृद्धि भएको हो ।
यसपटक कस्तो–कस्तो नयाँ प्रविधि प्रयोग हुनेछ ?
प्रविधिमा यसपटक हामी फड्को मार्ने क्रममा छौं, जस्तो अनलाइन टिकेटिङ, एलईडी स्क्रिन, लाइटिङ बेल्स । यसपटक थर्ड अम्पायरसमेत हुनेछन्, अनि ग्राउन्डमा हुने अम्पायरको ह्याटमा क्यामेरा हुनेछ । हामीले दर्शक क्षमता बढाउने प्रयास पनि गरिरहेका छौं ।
अक्सन कहिले हुन्छ त ?
अक्सन फागुन ९ मा हुनेछ र यसपटक दोब्बर मूल्य लाग्नेछ । रणनीति खेलाडीले कम्तीमा २ लाख रुपैयाँ पाउनेछन् । त्यसयता ‘ए’ श्रेणीकाले १ लाख ५० हजार रुपैयाँ, ‘बी’ श्रेणीकाले १ लाख रुपैयाँसम्म तथा ‘सी’ श्रेणीहरूले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । ‘डी’ श्रेणीमा ट्यालेन्ट हन्टबाट खेलाडी खोजिनेछ । प्रत्येक टिममा दुई जना विदेशी खेलाडी अनिवार्य रहनेछन् ।
अझ अर्को वर्ष थप के हुनेछ ?
थप नयाँ उचाइ । हामी अझ अनुभवी भएका छौं, हाम्रा सहयोगी हात बढेका छन् । सम्भवत: हामी होम एन्ड अवेको ढाँचामा जानेछौं ।