साप्ताहिक संवाददाता
नयाँबानेश्वर चोकबाट दक्षिण शंखमूलतिर मोडिदा लस्करै क्याफे तथा रेस्टुराँहरू छन् । तीमध्ये पाँच महिनाअघि खुलेको ओरेन्ज जुस बार फुड् क्याफे एन्ड रेस्ट्रोले बेग्लै पहिचान बनाइसकेको छ । यदि तपार्इं जुसको पारखी हुनुहुन्छ भने तपाईंको रहर यो जुस बारले पूरा गरिदिन सक्छ । यहाँ एभोकाडो ग्रीन (एभोकाडो, काँक्रा, पालुङ तथा स्याउको मिश्रण), डियर टु डिटोक्स (स्याउ, काँक्रा तथ गाँजरको मिश्रण), अप बिट् (अदुवा, सखरखण्ड तथा पालुङ्गोको मिश्रण) जस्ता जुसहरूको स्वाद लिन सकिन्छ भने त्यस्तै स्वीट् लाइम, वाटर लेमन, अनार, पाइनापल, मिक्सड जुस पनि अर्डर गर्न सकिन्छ ।
फलफूलका विभिन्न आइटमबाट बनाइएको स्मुदी पनि यहाँ पाइने विशेष आइटम हो । यहाँको शान्त एवं सफा वातावरणले जोसुकैलाई लोभ्याउँछ । धेरै नेपालीहरूको प्रिय परिकार हो– म:म । म:मका ७ किसिमका आइटम पाइने यो रेस्टुराँमा बाराको बर्गर, नेवारी पिज्जा तथा चटामरी पनि उपलब्ध हुन्छ । यो बारमा दुबई तथा सिंगापुरमा बसेर फर्किएका सञ्चालक अनुपराज एवं काठमाडौंका व्यवसायी प्रतीक प्रधानले संयुक्त रूपमा स्थापना गरेका हुन् । सञ्चालक अनुपराजका अनुसार एकै पटकमा ६० जनालाई सेवा उपलब्ध गराउन सक्ने यो बारमा हाइजेनिक खाना र उपभोक्ताहरूको सत्कारमा विशेष ध्यान पुर्याइन्छ । स्ट्रबेरी ड्रिम, स्ट्रबेरी सनराइज, चेरी ब्लुजम, क्लासिकल बनाना, बेरी ब्लिट्ज जस्ता स्मुदीका आइटमहरू पनि उपलब्ध हुने यो आउटलेटमा अन्य क्याफेभन्दा बढी भेराइटीका कफी पिउन सकिन्छ । यहाँ क्यारेम्बल मोइतो, फ्लेभर्ड क्याप्पाचिनो, एफोगाटो, मैतो, ब्लेन्डेड ब्राउसिनो जस्ता कफीको स्वाद लिन पाइन्छ ।
स्थान : नयाँ बानेश्वर
विशेष आइटम : एभोकाडो ग्रीन, डियर टु डिटोक्स, नेवारी पिज्जा तथा बाराको बर्गर ।