केही दिनअघि सलमान खानले आफ्नो नयाँ चलचित्र ‘लवरात्रि’ मा आयुष शर्मालाई लिने घोषणा गरे । अभिनेता निश्चित भए पनि उक्त चलचित्रकी अभिनेत्री अझै निश्चित भैसकेकी छैनन् ।
अभिनेत्री कट्रिना कैफ सलमानको उक्त चलचित्रबाटै आफ्नी बहिनी इसाबेललाई डेब्यु गराउन इच्छुक छिन् । कट्रिनाले त्यसका लागि सलमानसँग सहयोग मागिरहेको बताइन्छ, तर सलमानले भने आफ्नो नयाँ चलचित्रको अभिनेत्रीका रूपमा वरिना हुसेनको नाम लिएर कट्रिनालाई चकित पारिदिएका छन् ।
आखिर सलमानले उक्त निर्णय किन गरे ? यसको जवाफ पनि फेला परेको छ । भनिन्छ– सलमानले इसाबेलको नाममै विचार गरी उनको स्क्रिन टेस्टसमेत लिएका थिए, जसमा उनलाई इसाबेलको काम मन परेन । इसाबेलले क्यामेरासँग मित्रता कायम गर्न सकेकी थिइनन् ।
त्यसबाहेक लवरात्रिका लागि हिन्दी राम्रो बोल्नुका साथै गुजरातीमा पनि दख्खल भएकी अभिनेत्री चाहिएको थियो । इसाबेल भाषामा पनि असफल भइन् । यिनै कारणले सलमानले वरिनालाई लिए अनि कट्रिनाको मन दुखाए । कट्रिनाले सलमानबाट यस्तो निर्णयको अपेक्षा गरेकी थिइनन् ।