कतिपयले कर्पोरेट होलीले संस्कृतिलाई विकृत बनाउँदै लग्यो पनि भन्छन्– तर मेरो विचारमा यसले विकृति होइन संस्कृतिको संरक्षण गर्दै सभ्यता भित्र्याउँदैछ । यसले जथाभावी रूपमा खेलिने होलीलाई राम्रोसँग व्यवस्थापन गरेर व्यवस्थित होली मनाउने नयाँ संस्कारको सुरुवात गरेको छ । कुनै पनि कर्पोरेट हाउसले आयोजना गर्ने होली उत्सवमा एउटा निश्चित मापदण्ड हुन्छ । त्यहाँ रफ होली खेलिँदैन । बाहिर जस्तोपायो त्यस्तो पानीको लोला हान्ने, केमिकलहरू दल्ने, अनिच्छुकहरूविरुद्ध जबर्जस्ती गर्ने क्रम बढेको पाइन्छ ।
त्यो हाम्रो होली होइन विकृति हो । कर्पोरेट होलीमा सफा पानी अनि स्वच्छ अविर मात्र प्रयोग गरिन्छ अनि जबर्जस्ती गरिँदैन । त्यही भएर कर्पाेरेट होली सभ्य होलीको उदाहरण भएको हो । यसले संस्कृतिलाई सहज तरिकाले संरक्षण गरी सभ्य तरिकाले होली मनाउन सकिन्छ भन्ने सन्देश पनि दिएको छ । समाजमा सभ्य होलीको सञ्चार पनि भैरहेको छ । मानिसहरू व्यवस्थित हुन चाहन्छन् । अव्यवस्थित होली खेल्नुभन्दा यस्तो होली पो खेल्नुपर्ने रहेछ भनेर मानिसहरूले सिक्दै गएका छन् । त्यसले होलीमा हुने अपराध कम गर्न समेत सहयोग पुर्याइ रहेकोछ ।
आफ्नै समाजमा अव्यवस्थित होली खेलिरहेकाहरूलाई पनि व्यवस्थित तरिकाले होली खेल्न कर्पोरेट होलीको उदाहरण दिएर प्रेरित गर्न सकिन्छ । कुनै निश्चित ठाउँमा भेला भएर हाली खेल्दा त्यहाँ मनोरन्जनका विभिन्न आयामहरू प्रयोग गर्न सकिन्छ जसले गर्दा बाहिर गएर अरूलाई असर पर्ने गरी खेलिने होली कम हुन्छ ।
यस्तो होलीमा एक–आपसमा थप नजिक हुन मौका मिल्छ । दुई चार जनाको ग्याङमा खेलिने होलीभन्दा पनि यसले ठूलो समूहमा हाली खेल्नलाई प्रेरित गर्छ । कर्पोरेट होलीमा दुई चार सय मानिस भेला हुन्छन् । अर्को कुरा हाम्रो संस्कृतिको अभिन्न पाटो भनेको संगीत पनि हो । त्यो छुटाउने कुरै हुँदैन । यसले मानिसहरूलाई एकीकृत गर्न पनि सहयोग पुर्याउँछ ।
अहिलेका मानिसहरू हरेक किसिमको मनोरन्जन खोजिरहेका हुन्छन् । कुनै पनि कुरा एउटा लिमिटमा रहेर गर्ने हो भने त्यो सबैका लागि सकारात्मक हुन्छ । जस्तो कि रमाइलोका लागि मानिसले रक्सी सेवन गर्छ । रक्सी सेवन गर्नु नराम्रो होइन तर लिमिटमा गर्नुपर्छ । भात नै पनि धेरै खायो भने त्यसले पखाला लगाउँछ भने अरुको कुरै छोडौं ।
चाडबाड भनेका दु:खहरू बिर्सेर मनोरन्जन गर्ने अनि आपसमा खुसी साट्ने अवसर हुन् । यतिबेला केही क्षणका लागि भए पनि दु:ख, रिस–राग आदि सबै बिर्सौं भन्ने हुन्छ । अझ होलीमा त लामो समयदेखि नबोलेका मानिसहरू पनि अबिर दलेर बोलचालको बाटोमा फर्कन्छन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेकै मनोरन्जनमार्फत खुसी साट्नु हो ।
संस्कृति भन्ने कुरा पहिले पनि त्यही हो र अहिले पनि त्यही हो । केही प्रक्रिया र तरिका फरक हुन सक्छन् । अवको जमानामा हामी युवाले यो गर्ने र पुरानो पुस्ताले यो गर्ने भन्ने हुँदैन । यद्यपि युवाहरूले हाम्रा चाडहरूलाई अझ व्यवस्थित गर्न विशेष योगदान पुर्याउन सक्छन् ।