साप्ताहिक संवाददाता
विनोद दास लगातार नेपाली क्रिकेटसँग आबद्ध छन्— पूर्व खेलाडी तथा कप्तानदेखि प्रशिक्षकका रूपसम्म । विनोद नेपाली क्रिकेटका पहिलो ठूला स्टार हुन् । डीपीएल–टुको खेलाडी अक्सनमा पनि उनी नजिकबाट जोडिए । यस्तोमा उनी प्रतियोगिताका सम्बन्धमा के भन्छन् त ? अनि समग्रमा नेपाली क्रिकेटका बारेमा उनको धारणा के छ ?
डीपीएललाई कसरी हेरिरहनुभएको छ ?
अहिले ट्वान्टी–२० क्रिकेटमा दुई ठूला प्रतियोगिता भैरहेका छन्— ईपीएल र डीपीएल । टिमका आधारमा ईपीएल राष्ट्रिय देखिन्छ भने डीपीएल क्षेत्रीय, तर खेलाडी भने तिनै हुन् । डीपीएलमा क्षेत्रीय टिम रहनु नै सबैभन्दा महत्त्वपूर्ण पक्ष हो ।
डीपीएलले क्रिकेटलाई विकेन्द्रिकरण गरिरहेको छ ?
यो अर्को राम्रो पक्ष हो । डीपीएलमा काठमाडौंलाई छाडेर सुदूर पश्चिमका टिमको बाहुल्य छ । यसले पक्कै पनि क्रिकेटलाई विकन्द्रीकरण गरेको छ । प्रतियोगिताको आयोजना स्थल नै धनगढी हो । ट्यालेन्ट हन्टबाट निस्किएका खेलाडीमा पनि पश्चिमतिरकै खेलाडी बढी छन् ।
डीपीएल–टुमा कुन टिम बलियो देखिन्छ ?
अक्सनपछि विराटनगर किंग्स बलियो देखिएको छ । उसले राम्रा खेलाडी किनेको छ । कम्तीमा कागजमा विराटनगर उपाधिको बलियो दावेदार भएको छ । त्यसपछि महेन्द्रनगर युनाइटेड बलियो देखिन्छ ।
अहिलेको नेपाली क्रिकेटलाई कसरी हेरिरहनुभएको छ ?
ईपीएल र डीपीएलजस्ता प्रतियोगिताले नै नेपाली क्रिकेट चलिरहेको छ । क्यान अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट निलम्बनको स्थितिमा छ । अब यो स्थितिभन्दा माथि उठेर अगाडि बढ्नुपर्छ । खासमा नेपाली क्रिकेटमा कस्ता व्यक्ति छन्, त्यो महत्त्वपूर्ण होइन । यिनले एउटा व्यवस्था स्थापना गर्ने हो र त्यस अनुसार नै क्रिकेट अघि बढ्ने हो भने समस्या हुँदैन ।
अब नेपाली क्रिकेट कता जान्छ ?
आईसीसीले अन्तिम मौका भनेको छ, समस्या समाधान भएन भने प्रतिबन्ध लाग्न सक्छ । नेपालले फेरि नयाँ स्थितिबाट आईसीसीमा आफ्नो सुरुवात लिनुपर्नेछ । त्यति बेला पक्कै पनि नेपाली क्रिकेटलाई सम्हाल्न केही समय लाग्ला, तर यो पक्कै सम्हालिनेछ, त्यसैले हामी सबै तत्काल यो समस्या समाधानतर्फ लाग्नुपर्छ ।