साप्ताहिक संवाददाता
एउटा सर्जकका लागि आफ्नो सिर्जना लोकप्रिय अर्थात हिट हुनुले ठूलो अर्थ राख्छ । जब हामीले गरेको सिर्जना हिट हुन्छ, तब मात्र हामी सन्तुष्ट हुन्छौं । सांगीतिक क्षेत्रमा प्रवेश गरेलगत्तै म पनि हिटको खोजीमा थिएँ । यद्यपि त्यसका लागि मैले केही समय प्रतिक्षा गर्नुपर्यो ।
हुन त २०६६ सालमै प्रदर्शन भएको चलचित्र दिलमायाको ‘छुट्छ कि साथ...’ गीतबाट मलाई श्रोताहरूले चिन्न थाल्नुभएको थियो । त्यसपछि प्रदर्शन भएको चलचित्र ‘बिन्दास’ को ‘बाटो मोडेर गयौ...’ गीतले मलाई थप उचाइ प्रदान गर्यो । यद्यपि आफ्नो पहिलो हिटका रूपमा मैले चलचित्र ‘बिन्दास–२’ को ‘सुन्छु तिमीले मलाई भुल्दै आँटेको छौ रे’लाई लिएको छु ।
यो गीत महिला (दुर्गा खरेल) तथा पुरुष (शिव परियार) गरी दुई भर्सनमा रेकर्ड भएको थियो । राम अविरलको शब्दको उक्त गीतको पुरुष स्वर चलचित्रमा अत्यधिक रुचाइयो भने महिला स्वरले त्यो बेलाको सिआरबिटीमा कीर्तिमान नै कायम गर्यो ।
वर्ष २०६९ सालमा सार्वजनिक भएको उक्त गीतले त्यो वर्ष वितरण भएका चारवटा एवार्डमा मलाई सर्वोत्कृष्ट संगीतको एवार्ड समेत जिताएको थियो । त्यति बेला युट्युबको प्रचलन थिएन, यदि भएको भए यो गीत ट्ेरन्डिङको पहिलो नम्बरमा पर्ने निश्चित थियो ।