साप्ताहिक संवाददाता
दरबारमार्गमा डुल्दै हुनुहुन्छ र नेवारी परिकारको खोजीमा हुनुहुन्छ भने छेली क्याफे तपाईंको सही छनौट हुन सक्छ । नेवारी परिकार भन्ने बित्तिकै छिटो र हाइजेनिक हुन्छ भन्ने विश्वास गरिन्छ ।
लुभुका किरण श्रेष्ठले सञ्चालन गरेको छेली क्याफेमा चटामरी, नेवारी ससेज, बारा, हाँसको छोयला, सफुमिचा, क्रन्ची बाराजस्ता परिकारहरूको स्वाद लिन सकिन्छ । तुलनात्मक रूपमा अन्य रेस्टुराँभन्दा छेली क्याफेले पस्किने परिकार सस्तो छ । नेवारी भाषामा छेलीको अर्थ भूमिगत भन्ने लाग्छ ।
यो क्याफे पनि भूमिगत नै छ । क्याफेले एक पटकमा ३० देखि ४० जनालाई सेवा दिन सक्छ । एक महिनाअघि खुलेको यो क्याफेमा खाजा खान जाँदै हुनुहुन्छ भने खल्तीमा ३ सय रुपैयाँ भए पुग्छ । यो क्याफेको सजावट पनि आकर्षक छ । क्याफे पुराना काठबाट बनाइएको छ ।
तीनवटा कोठामा पलेंटी कसेरै खान सकिन्छ । वाल पेपरले सजाइएका भित्ताहरू छन्, जहाँचर्चित अन्तर्राष्ट्रिय सेलिब्रेटीहरूका तस्बिर टाँगिएका छन् । खासगरी दरबारमार्ग वरिपरिका कार्यालय र नेवारी परिकारका पारखीहरूलाई लक्षित गरेर यो क्याफे सञ्चालन गरिएको सञ्चालक किरण श्रेष्ठले बताए ।
रेस्टुराँ : छेली क्याफे
स्थान : दरबारमार्ग
स्पेसल परिकार : चटामरी, नेवारी ससेज, बारा, हाँसको छोयला, सफुमिचा