पाँचौं संस्करणको विराट गोल्डकप आज शनिबार चैत १७ देखि २६ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा सञ्चालन हुने भएको छ । यो गोल्डकपका प्रतिस्पर्धाहरू राति फ्लड लाइटमा खेलाइनेछ । विराटनगरमा पहिलो पटक फ्लड लाइटमा फुटबल खेलाइन लागिएको गोल्डकप आयोजक समितिका अध्यक्ष नवीन रिजालले बताए । आयोजकहरूले गोल्डकप हुने खेल मैदान वरपर ६ वटा फ्लड लाइट जडान गरी पर्याप्त मात्रामा प्रकाशको व्यवस्था गरेका छन्, जहाँ साँझ ६ बजेपछि खेल हुनेछ ।
गोल्डकपमा भारतका दुई टिमका साथै भुटान र नेपालका गरी १० टिम सहभागी हुनेछन् । यो प्रतियोगितामा सहभागी हुने विदेशी टिममा भारतको सिक्किम युनाइटेड क्लब, मोहम्मडन स्पोर्टिङ क्लब तथा भुटानको थिम्पु फुटबल क्लब छन् । नेपालबाट भने मनाङ मस्र्याङदी क्लब, सशस्त्र प्रहरी वल, थ्रीस्टार, नेपाल पुलिस क्बल, नेपाल आर्मी, झापा–११ तथा आयोजक मोरङ–११ गरी सातवटा टिमको सहभागिता रहनेछ ।
२०१८ सालमा महेन्द्र गोल्डकपका नाममा सञ्चालनमा आएको यो प्रतियोगिताको नाम २०६७ सालमा परिवर्तन गरेर विराट गोल्डकप राखिएको हो । यो गोल्डकपका विजेताले १२ लाख ७१ हजार रुपैयाँ तथा उपविजेताले ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् भने म्यान अफ दि टुर्नामेन्टले मोटरसाइकल प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड, टिम व्यवस्थापक एवं सर्वाधिक गोलकर्ताहरूलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने गोल्डकप आयोजकहरूले बताएका छन् ।