साप्ताहिक संवाददाता
कहिलेकाहीँ ढाँटेकी छु । ढाँट्ने शब्द मेरो जीवनमा केही समय युज भएको छ ।
युगेन छोदेन युजी, भुटानी अभिनेत्री
काठमाडौंमा दु:ख गर्दा म धेरै पटक बिरामीसमेत भएँ, तर म ठीक छु भन्दै मम्मी–बाबासँग झूटो बोलेको छु ।
कमल खत्री, गायक
त्यस्ता रमाइला झूट कुरा गरेको त कति छन् कति ? सानोमा मेरी बहिनीको हेडबिन एकछिन लगाउँछु है भनेर मागें तर त्यो भाँचियो । डराएर तत्कालै गमले टाँसेर उसैलाई लगाउन दिएँ । पछि थाहा पाइछ र मेरो हेडबिन दिदीले भाँचिदिई भन्दै रुन थाली । आमा मसँग कराउन थाल्नुभयो । मैले आफूले गल्ती गरेको थाहा हुँदाहुँदै पनि उल्टै बहिनीले नै भाँचेकी हो भनेर ढाँटेँ ।
रीतु कँडेल, गायिका
कति हो कति ? नढाँट्ने हो भने आमाको कुटाइ त कति खाइने कति ?
बाबु बोगटी, गायक
किन नढाँट्नु ? कति ढाटिएको छ कति ?
प्रेम पुरी, अभिनेता
एकदमै । नढाँटेको त दिनै हुँदैन । ठूला विषयमा भन्दा पनि स–साना विषयमा ढाँट्नु हामी सबैको बानी नै भैसकेको छ ।
मोहन न्यौपाने, सञ्चारकर्मी
काठमाडौंमा एक्लै बस्छु । एक्लै हुँदा खाना बनाउन अल्छी लाग्छ । आमाले खाना खाइस् भन्नुहुन्छ, म खाएँ भन्छु । एक–दुई जना केटा धेरै पछि लाग्दा मेरो त विवाह भैसकेको छ पनि भनेकी छु ।
सुशीला गौतम, गायिका
पाँच वर्ष पहिलेको कुरा हो । बुटवलको एक रेडियोमा काम गर्दा आफूसँग खासै पैसा नहुने । तीन छाक खाना खाएको थिइनँ । आमाले खाना खाइस् भन्दा खाएँ भनिन्थ्यो, खाजा खाइस् भन्दा खाएँ भनिन्थ्यो ।
मुक्ति न्यौपाने, मोडल
ढाँटेको छु, आफू नै ढाँटिने परिस्थिति आउँदा । सानोमा पनि ढाँटिन्थ्यो, अहिले पनि बारम्बार ढाँटिन्छ । घरवाट फोन आउँदा जति टाढा भए पनि नजिकै छु भनिन्छ । सानोमा पैसा बहुत चोरियो, त्यतिबेला मैले चोरैको होइन भनेर धेरै पटक ढाँटियो ।
विष्णु बाबु देवकोटा, गीतकार
ढाँट्छु भनेर त ढाँटेको छैन, तर बेला–बेलामा ढाँटिएकै छ ।
प्रकाश शाक्य, गीतकार
बेला–बेलामा ढाँटेको छु । कहिले समयमा काम गर्न नसक्दा ढाँटेको छु । कहिले नजिकका साथीभाइलाई ढाँट्नै पर्छ ।
अर्जुन श्रेष्ठ, मोडल
धेरै ढाँटेको छु । स्कुलमा गुरुहरूलाई, घरमा आमासँग । विशेष गरी श्रीमतीसँग । कहिलेकाहीँ साथीभाइहरूसँग बस्दा ढिला हुन्छ, म्युजिकको काम छ भनेर ढाँटेको छु ।
योगेश काजी, गायक
अरूलाई हानि नहुने, तर आफूलाई असर पर्नर्े खालका कुरामा झूट बोलेकी छु । जस्तै, स्कुलमा होमवर्क नगरेको दिन कापी ल्याउन बिर्सिएँ भनेकी छु । घरमा कलेज जाने भनेर फिल्म हेर्न गएकी छु । धेरै कपडा किनेका बेला मामुको गाली नखान साथीले किनिदिएको भनेकी छु ।
अनुपमा भण्डारी, अभिनेत्री
कलेज पढ्दा मैले एउटा गल्ती गरेकी थिएँ, जुन कुरा मेरो ब्वाइफ्रेन्डले थाहा पायो अनि उसले घरको नम्बर देऊ भन्यो । घरको नम्बर दिन डर लागेर साथीको नम्बर दिएको, त्यो नम्बर साथीको बाबाले उठाउनुभएछ । अनि त बबालै भयो नि, त्यो झूट कहिल्यै बिर्सन सक्दिनँ म ।
सृष्टि खड्का, मोडल
मैले आफ्नो मिल्ने साथीलाई तिम्री गर्लफ्रेन्डको विवाह पक्का भएछ भनेर राम्रैसँग ढाँटें । त्यसपछि उसले गर्लफ्रेन्डसँग बोलचाल नै बन्द गर्यो । पछि यथार्थ थाहा पायो अनि अचम्मित भयो ।
पुर्खे बा, हास्यकलाकार
ढाँट्न त धेरै पटक ढाँटियो तर सधैं राम्रो कुराका लागि मात्र । यदि ढाँटेर कसैलाई हानि हुँदैन भने किन नढाँट्नु ?
विधान कार्की, निर्देशक
ढाँटेकी छु नि ! कहिले जानेर ढाँटेकी छु भने कहिले नजानेर । यद्यपि ढाँटेर कसैको भलोचाहिँ हँुदैन ।
कविता गौतम, मोडल
धेरै पटक ढाँटेको छु । मानिसले आफ्नो जीवनको विभिन्न कालखण्डमा कहिले बाध्यताले त कहिले रहरले ढाट्नुपर्दो रहेछ । विशेष गरी अहिलेभन्दा पनि बाल्यकाल धेरै ढाँटेको छु ।
ज्याक श्रेष्ठ, अभिनेता
हाम्रो रुमको साइडमा एक जना दाइ बस्नुहुन्थ्यो । अप्रिल फूलको दिन थियो । मैले उहाँलाई बाहिरबाट दाइ आउँदै हुनुहुन्छ, तुरुन्त बसपार्क लिन जानुस् रे भनें । उहाँ तुरुन्तै बसपार्कतर्फ लाग्नुभयो अनि त्यहाँ तीन घण्टाजति कुर्नुभयो । दाइ नआएर घर फर्किएपछि मात्र उहाँलाई ढाँटेको कुरा थाहा भयो अनि मज्जाले गाली खाइयो । त्यसपछि अप्रिल फूलका दिन कसैलाई ढाँटेको छैन । बाँकी साथीहरूसँग हंसिमजाक त चलिरहन्छ नि ।
अमृत ढुंगाना, अभिनेता
सानातिनो ढाँट्ने काम त जसले पनि गर्छ । मैले आफ्नो जीवनमा धेरैजसो श्रीमतीलाई नै ढाँटेको छु । खासमा श्रीमतीलाई नढाँटी पनि नहुने । कहिले साथीभाइहरूले पार्टीमा बोलाउँछन्, कहिले आफ्नै व्यक्तिगत कामले बाहिर जानुपर्छ । श्रीमतीलाई बताएरसाध्य नहुने । अर्को कुरा, साथीभाइहरूले पैसा सापटी माग्दा सेयरमा लगानी गरेको छु, अहिले मसँग पैसा छैन भन्दै ढाँट्ने चलन त अझै पनि छ ।
कमलमणि नेपाल, अभिनेता
एउटा अन्र्तवार्ताका लागि बोलाएको बोलायै थिए । टाढा भएकाले जान झ्याउ लाग्यो । एक दुई दिनमा गरौं न भनें । दुई दिनपछि फोन गरे उनले । मैले त्यो दिन छोरी जन्मिइन, आउन सकिनँ सरी भनें । अर्को वर्ष छोरी जन्मिएपछि तिनै व्यक्तिले फोन गरेर बधाई दिए । अनि उनले भने, पोहोर पनि छोरी पाउनुभो, अहिले पनि । प्रत्येक वर्ष किन बच्चा पाउनुभा’को भनेर प्रश्न गरे उनले ।
एकनारायण भण्डारी, गीतकार
खासै ढाँट्ने बानी छैन । साथीभाइहरूसँग अलि–अलि मजाक गर्नु त सामान्य भैहाल्यो । म त्यस्तै खालको वातावरणमा हुर्किएँ, बढे । यहाँसम्म आउँदा ढाँटेर केही बर्बाद गरेजस्तो लाग्दैन ।
ईश्वर बल्लभ उप्रेती, मोडल