साप्ताहिक संवाददाता
‘डिस्कभरिङ हिडेन ट्रेजर’ भन्ने नाराका साथ तेश्रो अन्तर्राष्ट्रिय चिया महोत्सव काठमाडौंमा जारी छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले आयोजना गरेको महोत्सवको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले उद्घाटन गरेका छन् । महोत्सव राजधानीको याक एण्ड यती होटलमा जारी छ ।
उद्घाटन कार्यक्रबममा बोल्दै मन्त्री खनालले चिया लगायत कृषिको विकासको लागि सरकारले सहजकर्ताको भूमिका खेल्ने बताए । नेपालमा आधा भन्दा बढी जनसंख्या कृषिमा आश्रित रहेको उल्लेख गर्दै मन्त्री खनालले यसको विकासको लागि सरकारले कुनै सम्झौता नगर्ने दाबी समेत गरे ।
३ दिनसम्म चल्ने महोत्सवमा विश्व बजारमा नेपाली चियाको सहज निर्यातका लागि सरकारी पहलबारे जानकारी समेत दिइने बोर्डका निर्देशक एवं आयोजक समितिका सदस्य सचिव दिपक खनालले बताए । महोत्सवमा विभिन्न १३ मुलुकबाट २९ जना विदेशी सहभागि भएका छन् ।
हाल मुलुकको २८ हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको र अधिकांश खेती मुलुकको पूर्वी भेगमा हुने गरेको छ । नेपालमा बार्षिक रुपमा करिब २ करोड ४० लाख किलो चिया उत्पादन हुादै आएकोमा ५५ लाख किलो चिया अर्थोडक्स रहेको बोर्डले जनाएको छ ।