साप्ताहिक संवाददाता
दक्षिण एसियाली जुडोमा भारत अरूको तुलनामा निकै बलियो छ भन्ने तथ्य सबैलाई थाहा थियो । यसै साता काठमाडौंमा भएको आठौं दक्षिण एसियाली जुडोले यसलाई अझ स्पष्ट मात्र पारेको छैन, भारत र अरू देशबीचको अन्तर धेरै रहेको प्रमाणित पनि गरेको छ । प्रतियोगितामा कुल १४ स्वर्ण पदक उपलब्ध थियो, त्यसमध्ये १० भारतको नाममा रह्यो । यस्तोमा यो प्रतियोगितालाई भारतले गरेको प्रदर्शन लगभग ‘क्लिन स्विप’ का रूपमा सम्झिइनेछ ।
भारतले प्रतियोगिताको अन्तिम दिन टिम इभेन्टतर्फ दुवै स्वर्ण जितेको थियो । पुरुषतर्फ भारतले पाकिस्तानलाई हराएको थियो भने महिलातर्फ नेपाललाई । भारतले व्यक्तिगत स्पर्धाको महिलातर्फ सबै ७ स्वर्ण र पुरुषमा ३ स्वर्ण जितेको थियो । विशेषत: महिला स्पर्धामा भारतको एकछत्र आधिपत्य कायम रह्यो । पुरुषतर्फ मात्र नेपाल र पाकिस्तानी खेलाडीले केही चुनौती पेस गरे । यस्तोमा नेपाल र पाकिस्तानको नाममा २–२ स्वर्ण रह्यो ।
नेपालका लागि प्रतियोगिता कस्तो रह्यो त ? नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । प्रतियोगिताको सुरुमा नेपालमा दाबी थियो, हामीले कम्तीमा ५ स्वर्ण जित्नेछौं, तर नेपाल यसको छेउ पनि पुग्न सकेन । महिलातर्फ जहाँ भारतीय खेलाडीको प्रदर्शन उच्च थियो, त्यहीं नेपालको प्रदर्शन खराब रह्यो । नेपालले महिलातर्फ दुई खेलाडी फुपुल्हामु क्षेत्री र मनिता प्रधान श्रेष्ठबाट स्वर्णको आश गरेको थियो, तर दुवैले निराश पारे ।
नेपाली टिमका प्रशिक्षक वीरेन्द्र रञ्जित पनि निराशजस्तै देखिए । उनको दाबी थियो, नेपाली खेलाडी भारतीयसँग पराजित हुनुको कारण प्राविधिक भन्दा पनि मानसिक बढी थियो । रञ्जित भन्छन्— हाम्रा सबैजसो खेलाडी भारतीय प्रतिद्वन्द्वीसँगै पराजित भए । उनीहरूका अगाडि मनोवैज्ञानिक रूपमा हाम्रा खेलाडी कमजोर देखिए ।
प्रशिक्षक रञ्जितले नेपालको प्रदर्शनमा धेरै सुधार गर्ने पनि बताए । भारतीय खेलाडी एक स्पर्धामा मात्र नेपालीसँग पराजित भए । इन्द्र श्रेष्ठले ६६ किलोग्राम तौल समूहको सेमिफाइनलमा अंकित विष्टलाई हराएका हुन् र यो धेरै अर्थमा ऐतिहासिक प्रदर्शन रह्यो । नेपालले भारतीय खेलाडीलाई मान्यता प्राप्त जुडो प्रतियोगितामा हराएको यो २३ वर्षयता पहिलो थियो । यसअघि सन् १९९५ मा भारतको मद्रासमा भएको दक्षिण एसियाली खेलकुदमा रमेश बस्नेतले स्वर्णपदक जित्दा भारतीय खेलाडीलाई हराएका थिए । इन्द्रले फाइनलमा पाकिस्तानका हुसेन बाबरलाई इप्पोन प्रहार गर्दै स्वर्णपदक प्राप्त गरे ।
प्रतियोगिताको पहिलो दिन नेपालले एक मात्र स्वर्ण जितेको थियो । त्यो रविन श्रेष्ठको नाममा रह्यो । उनले १ सय किलोग्रामभन्दा कमको तौल समूहमा एकमात्र स्वर्ण जिते । घरेलु स्पर्धामा नेपाल प्रहरीबाट खेल्ने २५ वर्षीय रविनको अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो स्वर्ण हो । रविनले अन्तिम खेलमा बंगलादेशका मोहमद अब्दुल कलाम आजादलाई पन्छाउँदै स्वर्ण पक्का गरे ।
स्वर्ण आशा गरिएका फुपुल्हामु र मनिताले अपेक्षित सफलता हात पार्न सकेनन् । फुपु फाइनलमा भारतीय सुनिवाला देवी हुइद्रोमसँग पराजित भइन् भने मनिता पनि भारतीय प्रतिद्वन्द्वी अंगोम अनिता चानुसँग सेमिफाइनलमै रोकिइन् । प्रतियोगिताका बारेमा प्रशिक्षक रञ्जितको निचोड थियो— यो प्रतियोगिताले दक्षिण एसियाली जुडोमा हामी कहाँ छौं भनेर प्रस्ट पारेको छ । यसैका आधारमा अब हामीले एसियाली र दक्षिण एसियाली खेलकुदको तयारी गर्नुपर्छ ।