साप्ताहिक संवाददाता
स्वरूपा आशा, गायिका
सांगीतिक व्यस्तता कस्तो छ ?
केहीअघि एउटा नयाँ गीत ‘नहुने...’ को म्युजिक भिडियो लिएर दर्शकमाझ आएकी छु । त्यसबाहेक म नियमित रूपमा बिहान–बेलुका घरमै रियाज गर्छु ।
नहुने केही छैन गीत लोकप्रिय भएको हो ?
दर्शकहरूको प्रतिक्रिया हेर्दा त लोकप्रिय भैसक्यो जस्तो लाग्छ । सक्रिय रूपमा प्रत्यक्ष मार्केटिङ गर्न नपाउँदै सकारात्मक प्रतिक्रिया आइरहेको छ । कन्सर्टमा गाएपछि बल्ल यसको वास्तविकता थाहा पाउनेछु ।
रञ्जित गजमेरको संगीतमा गीत गाउने मौका कसरी पाउनुभयो ?
कन्दरा ब्यान्डका गायक विवेक श्रेष्ठ तथा म प्रशंसकका रूपमा संगीतकार रञ्जित गजमेरसँग भेट्न मुम्बई गएका थियौं । वास्तवमा हामी उहाँप्रति समर्पित एउटा सांगीतिक कार्यक्रम गर्न चाहन्थ्यौं । त्यतिबेला उहाँले ‘आज मेरी छोरी आएकी छ भेट्नलाई, के माग्छौ माग मसँग भएको दिन्छु’ भन्नु भयो । मैले हिम्मत गरेर ‘बाबुजी एउटा गीत’ भनें । उहाँले ‘एउटा किन, तिमीहरूका लागि म पूरै एल्बम नै गरिदिन्छु, यो मेरो आशीर्वाद हो तिमीहरूलाई’ भन्नुभयो । त्यसपछि ‘नहुने...’ गीत तयार भएको हो । अब चाँडै नै उहाँको एकल संगीत तथा कन्दराका गायक श्रेष्ठको सहकार्यमा ‘कृति’ शीर्षकको एकल एल्बम सार्वजनिक हुनेछ ।
कन्दरासँगको सहकार्य कस्तो हो ?
कन्दराभन्दा पनि मैले गायक विवेक श्रेष्ठसँग काम गर्ने मौका पाएँ । त्यसपछि कन्दरासँग मिलेर पोखरामा ‘ट्रिब्यूट टु द लिजेन्ड रञ्जित गजमेर’ शीर्षकको सांगीतिक कार्यक्रम गर्न सफल भयौं ।
सांगीतिक यात्राका क्रममा के–कस्ता गीत गाउनुभएको छ ?
अष्ट्रेलियाका स्टेजहरूमा धेरै पटक गीत गाउने मौका पाएकी छु । क्रान्ति आले, राजु लामा, निमा रुम्बा, १९७४ एडी, दीप श्रेष्ठदेखि उदित नारायण झासम्मका गायकसँग स्टेजमा सँगै प्रस्तुति दिएकी छु । त्यसबाहेक मुम्बई पुगेर समेत स्टेज प्रस्तुती दिएकी छु । त्यहाँ संगीतकार प्यारेलालले मलाई जोली मुखर्जीसंग गीत गाउने अवसर दिनु भएको थियो । मेलबर्नमा मैले आफ्नै ब्रान्ड पनि चलाएकी थिएँ ।