त्यहाँ जानु छैन, किनभने अहिलेसम्म गएको छैन । त्यो खानु छैन, किनभने अहिलेसम्म खाएको छैन ।
त्यसो गर्नु छैन, किनभने अहिलेसम्म गरेको छैन ।
यसो भन्ने हामी कति छौँ । हामी कहिल्यै नबोलेको मान्छेसित बोल्न हिचकिचाउँछौँ । नयाँ भन्ने चिज हामीलाई बडो जोखिमपूर्ण लाग्छ । कतै फसाउने हो कि ? कतै झुक्क्याउने पो हो कि ? नयाँ बाटो हिँड्दैनौँ । लाग्छ, कतै हराइने पो हो कि ?
चलचित्रका निर्देशक तथा निर्माताहरू नयाँ कलाकारलाई लिएर काम गर्न डराउँछन्, कतै डुबाउने पो हुन् कि ? कुनै प्राइभेट कम्पनीको सिइओसँग सोध्नुहोस्, नयाँ कर्मचारी लिन किन हिचकिचाउँछन् ?
परिवर्तनको विपक्षमा कोही छैन तर नयाँ कुराको जोखिम लिने पक्षमा हरकोही छैनन् । हर पुराना चिज कुनै बेला नयाँ थिए । हर नयाँ चिज भोलि पुराना हुनेछन् । पुरानो र नयाँ चिज भन्ने नै के रहेछ र ? सबै समयको नदीमा मिसिँदै जाने पानीका खोल्साखोल्सी न हुन् ।
नयाँ चिजको खोजी नगर्ने हो भने परिवर्तन कसरी सम्भव हुन्छ ? हाम्रा हजुरबुवाहरू पहाड छोडेर बसाइँ नसरेका भए, आज मधेस र काठमाडौँ यसरी भरिँदैनथ्यो होला । रोजगारी र अध्ययनका लागि विदेश जानेहरू पनि हुँदैनथे होलान् । संसार यति सानो लाग्दै जाने पनि थिएन होला । संसार यतिसाह्रो चलायमानसमेत लाग्दैनथ्यो होला । जहाँ गइएको छैन, त्यहीँ जाने हो यही कारणले कि त्यहाँ अहिलेसम्म गइएको छैन, त्यसैले जानैपर्छ । कमसेकम अनुभवका लागि ।
त्यो खाने हो (आफूलाई उचित लाग्छ भने), यही कारणले कि त्यो खाइएको छैन, कस्तो होला त्यसको स्वाद ? बुझ्नलाई पनि खानैपर्छ ।
त्यो गर्नुपर्छ, कस्तो होला त्यो काम गर्दा (यदि आफूलाई त्यो काम ठीक लाग्छ भने), यहि कारणले कि नयाँ काम गर्दाको अनुभव कस्तो हुन्छ ? यस्तैले खोज्न सिकाउँछ । ज्ञानको गोरेटोमा कौतूहलको टुकी बालेपछि संसार नै आएर प्रतिविम्बित हुन्छ त्यहाँ । कतिपय स–साना कुरामा हामी आफूलाई त परिवर्तन गर्न सक्दैनौँ, देश परिवर्तन गर्ने ठूल्ठूला कुरा गरिरहेका हुन्छौँ ।
हामीले बाँच्ने एउटा रुटिन बनाएका छौँ । हामी हत्तपत्त त्यो रुटिन खल्बल्याउन चाहँदैनौँ । हामी एउटा पोखरीसरि स्थिर भएर बसेका छौँ, जहाँ कसैले ढुंगा हानिदिएको रुचाउँदैनौँ । हामी तितरबितर हुन चाहँदैनौँ, हामी छरिन चाहँदैनौँ, हामी खल्बलिन चाहँदैनौँ, लडखराउन चाहँदैनौँ, उफ्रिन चाहन्नौँ, थेचारिन चाहन्नौँ ।
तर परिवर्तन भनेकै यिनै हुन् । पहाडको भुँडी नफुटाई हाम्रा पाइताला टेक्न मिल्ने गोरेटो पनि खनिँदैन । कपडा कतै नच्याती, नउधारी लुगा पनि सिलाउन मिल्दैन । गोडमेलै नगरी त बारीमा तरकारीसमेत फल्दैन ।
परिवर्तन तबसम्म सम्भव छैन, हामी थाहा पाउँदा–पाउँदै कि त्यहाँ केही मिल्नेवाला छैन, त्यही बाटोमा हिँडिरहन्छौँ । परिवर्तन त्यो बेला मात्र सम्भव हुन्छ जुनबेला हामीभित्र टाँस्सिएका पुराना मान्यताका लेउहरू ताछेर मिल्काउँछौँ र बिचारका नयाँ प्रजातिलाई ठाउँ दिन्छौँ । परिवर्तन एक किसिमको क्रान्ति हो । त्यसका लागि एउटा रुटिन भत्काउन सक्नुपर्छ । वर्षौंदेखि ओगटिरहेका अनुत्पादक र कुरुप बिचारहरूलाई मस्तिष्कबाट मिल्काउने हिम्मत गर्न सक्नुपर्छ । तब मात्र एउटा खाली ठाउँको सिर्जना हुन्छ । हो, त्यही खाली ठाउँलाई हामी चाहेअनुसारको आकार दिन सक्छौँ । त्यही खाली ठाउँमा हामी नयाँ विचार, नयाँ योजना अनि नयाँ चिजको प्रयोग बिल्कुलै नयाँ ढंगले गर्न सक्छौँ ।