साप्ताहिक संवाददाता
खै अहिले त कस्तो–कस्तो लागिरा’छ ? भविष्यमा यसको कार्यान्वयन गतिलो तरिकाले भयो भने चाहिँ कस्तो–कस्तो नलाग्ला । समग्रमा अहिले बक्स अफिस लगाउनेहरू पनि कन्फ्युज, लागेको हेर्नेहरू पनि कन्फ्युज नै छन् ।
दीपकराज गिरी, अभिनेता
एकदमै राम्रो हो । चलचित्र वितरकका साथै निर्माताहरूको हितका लागि सबैभन्दा क्लियर बिजनेस यहीँबाट हुन्छ भने कुनै पनि चलचित्र फ्लप वा हिट भयो भन्दै हिँड्ने र भ्रम सिर्जना गर्ने कलाकार तथा निर्मातालाई बलियो झापड हुन्छ । यद्यपि बक्स अफिस इमान्दारितापूर्वक लागू हुनुपर्छ ।
बाबु बोगटी, गायक तथा अभिनेता
पक्कै पनि राम्रो हो, तर बक्स अफिसको अनुभव खासै गर्न भने पाएको छैन ।
सुदर्शन थापा, निर्देशक
मैले यसलाई राम्रो कामको सुरुवातका रूपमा लिएकी छु ।
सरिता लामिछाने, अभिनेत्री
नेपाली चलचित्र उद्योगका लागि बक्स अफिस निकै आवश्यक थियो । त्यो आवश्यकता परिपूर्ति भएकोमा खुशी लागेको छ ।
सञ्चिता लुइँटेल, अभिनेत्री
एकदमै राम्रो कार्यको सुरुवात हो । यसको पूर्ण कार्यान्वयन चाँडै होस् ।
दीपाश्री निरौला, अभिनेत्री
नेपाली चलचित्र निर्माताहरूका लागि सबैभन्दा खुसीको कुरा । बक्स अफिसले आर्थिक पारदर्शिता कायम गर्छ भन्नेमा आशावादी र खुसी दुवै छु ।
श्वेता खड्का, अभिनेत्री
नेपाली चलचित्र उद्योगका लागि राम्रो कामको सुरुवात हो । यो कार्यको हजार जिब्रो भएका शेष नागले त बयान गर्न सक्दैनन्, मैले के सक्नु र ? ढिलो भए पनि प्रशंसा गर्न लायक कामको सुरुवात भएको छ ।
धिताल चिरिच्याट्ट, हाँस्यकलाकार
एकदमै खुसी छु । अब चाहिँ चलचित्रको व्यापार पारदर्शी हुन्छ भन्नेमा विश्वस्त छु ।
विकास आचार्य, निर्माता
पहिले म्यानुअल टिकेटिङ सिस्टम थियो । साउन १ गतेदेखि ई–टिकेटिङ सेन्टर सर्भर सिस्टमको पूर्ण बक्स अफिस लागिसकेको छ जसमा निर्माताहरूले आफ्नो आईडी र पासवर्ड हालेर आफूले निर्माण गरेको चलचित्रले कति व्यापार गर्यो लाइभ हेर्न पाउँछन् । सिनेमाको प्रत्येक सोको बक्स अफिस टिकट बिक्री बन्द भएको आधा घण्टाभित्र अटोजेनेरेट इमेल निर्माताले प्राप्त गर्ने सबै फिचर बक्स अफिसभित्र छन्, ती फिचर सक्रिय भए कि भएनन् भन्ने मुख्य कुरा हो । लाइभ हेर्ने सिस्टम सक्रिय रूपमा लागू भएको छैन भन्ने केही निर्माताको गुनासो निर्माता संघमा आएको छ जसले गर्दा यो पूर्णरूपमा लागू भएको छ कि छैन यथाशीघ्र अनुगमन गर्नुपर्यो अनि पूर्णरूपमा बक्स अफिस लागू हुनुपर्यो ।
आकाश अधिकारी, अध्यक्ष, चलचित्र निर्माता संघ
सबैभन्दा पहिले त हाँस उठ्दो कुरा हो, बक्स अफिस लागू गर्न यति ढिला किन गरियो ? बक्स अफिस भनेको चलचित्र व्यापारको पारदर्शिताको कुरा हो । अब हामी बक्स अफिसको बक्स कस्तो बनाइयो भनेर हेर्न आतुर छौं । यदि बक्स साँच्चै पारदर्शी भयो भने राम्रो कुरा हो यदि पारदर्शी भएन भने यसलाई ठगी खाने टेक्निकल भाँडो भन्नु पर्ला ।
निखिल उप्रेती, अभिनेता
बक्स अफिस लागू हुनु एकदमै राम्रो कुरा हो तर, जुन उद्देश्यले बक्स अफिस लागू गरिएको हो त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन जरुरी छ । साथै, बक्स अफिसको नीति–नियम उल्लंघन गर्नेलाई सरकारले कडा कारवाही गर्नुपर्छ अनि मात्र त्यसको उचित अनि पूर्ण कार्यान्वयन हुन्छ ।
भुवन केसी, अभिनेता तथा निर्माता
हालै लागू भएको बक्स अफिस गोरेटो खने जस्तो मात्र हो । सबै मिलेर यसको पालना गरे विस्तारै पक्की सडक बन्दै जाला अनि पूर्ण सिस्टममा आउला ।
प्रदीप भट्टराई, निर्देशक
एकदमै राम्रो लागेको छ । चलचित्रमा लगानी गर्नेहरूको हिसाब–किताबमा पनि पारदर्शिता आउँछ अनि व्यवसाय पनि फस्टाउँदै जान्छ ।
खुमन अधिकारी, गायक
निर्माता, हलवाला तथा वितरकबीचको कारोबार पूर्णरूपमा पारदर्शी हुने भएकाले एकअर्काबीच शंका उत्पन्न हुने वातावरण तथा मनमुटाब कम हुन्छ अनि यसले मेलमिलाप समेत सिर्जना गर्छ । त्यसकारण बक्स अफिस उपयुक्त छ ।
दिपेश कार्की, मोडल