साप्ताहिक संवाददाता
Cricnepal
सन् २०१० को नोभेम्बरदेखि सञ्चालनमा आएको यो वेबसाइटले घरेलु तथा अन्तर्राष्टिय क्रिकेटलाई समेट्दै आएको छ । यो साइटमा क्रिकेटसम्बन्धी समाचार, लेख, फोटो, लाइभ स्कोरजस्ता विषयवस्तु समेटिएका छन् । नेपाली क्रिकेट साइटहरूमध्ये सामाजिक सञ्जालमा सबैभन्दा राम्रो फ्यान फलोइङ भएको वेबसाइट Cricnepal नै हो ।
Wicketnepal
अगस्ट २०१६ मा स्थापना भएयता यो साइटले छोटो समयमै आफूलाई नेपाली क्रिकेटको खुराकका लागि विश्वसनीय र भरपर्दो गन्तव्यका रूपमा उभ्याएको छ । अनुभवी लेखकहरू तथा स्तरीय लेखनशैली यो साइटको प्रमुख विशेषता हो । विगत एक दशकदेखि नेपाली क्रिकेटमा संलग्न युवाहरूको समूहले सञ्चालनमा ल्याएको यो वेबसाइट हाल नेपाली क्रिकेट समर्थकहरूबीच लोकप्रिय छ । भरपर्दो तथा समयमै समाचार सम्प्रेषण गर्दै आएको यो साइट सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय छ । नेपाली भाषामा केन्द्रित यो साइटमा केही मात्रामा भने अंग्रेजी सामग्रीलाई पनि स्थान दिइएको छ ।
यो साइट नेपाली क्रिकेट फ्यान्स अन फेसबुक नामक फेसबुक ग्रुपका संस्थापक समेत रहेका विराट रायको नेतृत्वमा सञ्चालन भैरहेको छ ।
Cricketingnepal
नेपालका व्यावसायिक पत्रकारहरूको एउटा समूहले सञ्चालन गरेको यो वेबसाइटले नेपाली क्रिकेटलाई दर्शकमाझ पुर्याउने काम गरिरहेको छ । लामो समयदेखि नेपाली क्रिकेट बुझेका र यही विषयमा कलम चलाउँदै आएका पत्रकारको समूहले चलाएको तथ्य यो साइटका लेख रचनाको स्तरीयताले पनि देखाउँछ ।
Cricketingnepal ले नेपाली तथा अंग्रेजी दुवै भाषामा सामग्री प्रदान गरिरहेको छ । यो साइटमा प्रयोग भएका स्तरीय तस्बिर तथा भिडियोको श्रेय अनुभवी फोटोपत्रकार कौशल अधिकारीलाई जान्छ । नेपाली क्रिकेटसँग राम्रोसँग भिजेका अन्य पत्रकार तथा संवाददाता पनि cricketingnepalमा आबद्ध भएको हुनाले यो साइटले नेपाली क्रिकेट समर्थकको आवश्यकता अनुसारकै प्रस्तुति दिने प्रयास गर्दै आएको छ ।
Crickethimalaya
दर्शकलाई क्रिकेटसम्बन्धी जानकारी, समाचार तथा लेख उपलब्ध गर्ने मात्र नभएर क्रिकेट समर्थकहरूलाई आफ्नो धारणा तथा अभिव्यक्ति प्रकाशन गर्ने अवसरसमेत प्रदान गर्ने उद्देश्यले यो वेबसाइट सञ्चालनमा आएको हो । विशेष गरी घरेलु क्रिकेटको जानकारीका लागि यो साइट उपयुक्त देखिन्छ । Crickethimalaya ले जिल्ला तथा स्थानीय स्तरमा हुने क्रिकेट गतिविधि तथा प्रतियोगिताहरूलाई प्रभावकारी रूपमा आफ्नो खुराक बनाएको पाइन्छ । यो साइटले नेपाली तथा अंग्रेजी दुवै भाषामा सामग्री राखे पनि नेपाली भाषालाई नै प्राथमिकतामा राखेको छ ।
Letzcricket
नेपाली तथा अन्तर्राष्टिय क्रिकेटसम्बन्धी जानकारी, समाचार तथा खुराकका लागि उपयुक्त यो वेबसाइट विगत २ वर्षदेखि सक्रिय छ । क्रिकेटलाई नजिकबाट नियालेका इन्जिनियरहरूको समूहले सञ्चालनमा ल्याएको यो साइटले लाइभ स्कोर, समाचार, प्लेयर प्रोफाइल, लेख रचना, अन्तर्वार्ता आदि सामग्री समेटेको छ ।
अन्तर्राष्टिय स्तरको क्रिकेट गतिविधिमा बढी केन्द्रित रहे पनि यो साइटबाट नेपाली घरेलु क्रिकेटको जानकारीसमेत प्राप्त गर्न सकिन्छ । फ्यान्टासीजस्तो प्राविधिक रूपमा जटिल तथा नयाँ आयामहरूमा नेपाली क्रिकेटलाई अघि बढाउने उद्देश्य लिएको यो साइटले आगामी दिनहरूमा पनि अरू नयाँ परीक्षण गर्ने योजना बनाएको छ ।
Letzcricket ले नेपाली तथा अंग्रेजी दुवै भाषामा वेबसाइट तथा मोबाइल एपको माध्यमबाट दर्शकहरूमाझ क्रिकेटसम्बन्धी खुराक प्रकाशित गर्दै आएको छ ।
Letzcricket का संस्थापक रितेश घिमिरेका अनुसार यो साइट समाचार तथा जानकारी दर्शकमाझ पुर्याउने कार्यमा मात्र सीमित नरहेर समग्र नेपाली क्रिकेटमा प्रविधिको प्रयोगलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिएको छ र त्यसकै सिलसिलामा अनलाइन क्रिकेट फ्यान्टासीको सफल प्रयोगसमेत गरेको छ । माथि उल्लिखित वेबसाइटको अतिरिक्त cricketconcern.com, hamronepalcricket.com तथा merocricket.com आदि अन्य केही वेबसाइट पनि क्रिकेटमै केन्द्रित रहेर सञ्चालनमा छन् ।